महिला हिंसाको मुख्य कारक मदिरा


२६ पुष २०७४, बुधबार
raksi

काठमाण्डौं : रोल्पामा मादक पदार्थ सेवनले वर्षेनी थुप्रै मानिसको ज्यान जानुका साथै घरेलु हिंसाका घटना समेत बढिरहेका छन् । जिल्लामा मादकपदार्थ सेवनपश्चात लडेर मर्नेको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । २०७२ सालमा यसरी मृत्यु हुनेको संख्या ३४ जना रहेको थियो । मादक पदार्थ सेवनकै कारण विभिन्न घटनामा परी २०७३ सालमा २९ जनाको मृत्युभएको थियो । चालु वर्षको मंसिर मसान्तसम्म यो संख्या १५ जना रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । जिल्लामा भवितव्यअन्तर्गत सूचीकृत हुने अधिकांश घटना मदिरा सेवनकै कारण हुने देखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । raksi

मदिरा सेवनले लैंगिक हिंसाका घटनासमेत बढिरहेको देखिएको छ । कर्तव्य ज्यानदेखि जबरजस्ती करणीसम्मका घटनाको कारक समेत मादकपदार्थ सेवन देखिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ । मादक पदार्थ न्यूनीकरणका लागि आमा समूहको सक्रियतामा विभिन्न अभियान सञ्चालन गरिएपनि सार्थकता पाउन नसकेको आमा समूहकी गौमाया केसीले बताउनुभयो । प्रहरीको सहयोगमा मादक पदार्थ न्यूनीकरणका अभियान सञ्चालन गरे पनि अभियानले सार्थकता पाउन सकेन केसीले भने । परिवार विखण्डन, मृत्यु, हत्या तथा लैंगिक हिंसाको कारक मादक पदार्थ भए पनि यसको न्यूनीकरण हुन नसक्नु दुःखद् रहेको केसीको भनाइ छ । आमा समूहको सक्रियतामा महिलाको सहभागितामा घरघर पुगेर घरेलु मादक पदार्थ नष्ट गर्ने अभियान चलाउँदा विभिन्न आरोप खेप्न परेको केसीले दुःखेसो पोखे ।

जिल्लामा घट्ने लैंगिक हिंसाका शतप्रतिशत घटना मादक पदार्थ सेवनकै कारण हुने गरेकाले यसको न्यूनीकरणका लागि आफूहरुले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको लैंगिक हिंसा न्यूनीकरणविरुद्धको जिल्ला कार्यकारी सञ्जालका अध्यक्ष श्रीकुमारी रोकाले बताइन् । मादक पदार्थ सेवनको मात्रा जिल्लामा अत्यधिक मात्रामा बढिरहेको देखिएकाले यसको न्यूनीकरणका लागि सडक नाटकलगायतका चेतनामूलक कार्यक्रम चलाएका छौँ, रोकाले भनिन् । प्रहरीसँगको समन्वयमा जिल्लाका विभिन्न स्थानमा कार्यक्रम गरिरहेको भए पनि परिणाम अपेक्षाकृत उपलब्धिमूलक हुन नसकेको रोकाको भनाइ छ । अभियान आक्रामक नहुँदासम्म उपलब्धि हासिल गर्न नसकिने उनको सुझाव छ ।

जिल्लामा धर्म, जाति र संस्कारका नाममा मादक पदार्थ सेवनमा छुट दिँदा विकृति बढिरहेको महिला मानवअधिकार रक्षक सञ्जाल, रोल्पाका अध्यक्ष तीर्था आचार्यले बताइन् । मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थलमा हिँडडुल गर्ने तथा घरेलु मादक पदार्थ उत्पादन गर्ने सबैलाई हदैसम्मको कार्बाही नहँुदासम्म यसको न्यूनीकरण हुन नसक्ने आचार्यको भनाइ छ । आमा समूहहरुले स्वतःस्फूर्त रुपमा सञ्चालन गरेको मादक पदार्थ्विरुद्धको अभियानलाई सहयोग गर्नुपर्ने आचार्यको भनाइ छ ।

अन्य सामाजिक अभियानजस्तै मादक पदार्थ सेवनविरुद्धको अभियानलाई समेत राज्यले प्राथमिकता दिनुपर्ने आचार्यले सुझाव दिइन् । मादक पदार्थ सेवनलाई लागुऔषधको रुपमा लिइएकाले यसको न्यूनीकरणका विभिन्न उपाय चालिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फूयाँलले जानकारी दिए । लागूऔषध नियन्त्रण जिल्ला कार्यकारी सञ्जालमार्फत यसको न्यूनीकरणको कार्ययोजना तयार गरी काम थालनी गर्न लागिएको फूयाँलले बताए । जिल्लामा हुने अधिकांश घटनाको कारक तत्व मदिरा नै भएको आफूहरुले पहिचान गरिसकेको हुँदा नियन्त्रणका लागि विशेष अभियान चाल्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७