व्यक्तिको नाममा दर्ता भएका २६४ विघा जग्गा आयो सरकारको नाममा


१६ फाल्गुन २०७६, शुक्रबार
padma aryal
फाइल फोटो

काठमाडौं, १६ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयअन्तर्गत प्रगति विवरण आज (शुक्रबार) एक कार्यक्रमबीच सार्वजनिक गरेकी छन् ।

२०७५ भदौ १८ गतेदेखि उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेकी उनले हालसम्म भएका प्रगति विवरण बिहीबार सार्वजनिक गरेकी हुन् ।

उनले विभिन्न व्यक्तिको नाममा दर्ता भएका २६४ विघा ५ कठ्ठा १५ धुर जग्गा आफ्नो कार्यकालमा सरकारको नाममा कायम गरिएको जानकारी गराएकी छन् । यस्तै सरकारको नाममा कायम गर्न १३ विघा १८ कठ्ठा ११ धुर जग्गा रोक्का राखिएको समेत मन्त्री अर्यालले बताएकी छन् ।

यस्तै हदबन्दीभन्दा बढी रहेको १० हजार १९२ विघा जग्गा सरकारको नाममा कायम गर्नका लागि रोक्का राखिएको तथा सरकारी जग्गा संरक्षणका लागि छानविन गर्न गठित सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनको क्रममा रहेको उनको भनाइ छ ।

सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणका लागि विभिन्न नीतिगत, कानूनी एवं संरचनागत व्यवस्था गरी संरक्षणका कार्यक्रम योजनावद्ध रुपमा अघि बढाइएको मन्त्री अर्यालले जनाइन् ।
विगतमा अनेक कारणबाट व्यक्तिका नाममा दर्ता हुन गएका जग्गाहरु रोक्का राख्ने तथा सरकारीकरण गर्ने कार्य भइरहेको भन्दै उनले यस्तो अभियान देशभर सञ्चालन भइरहेको जानकारी गराएकी छन् ।

सोही अभियानअन्तर्गत व्यक्तिका नाममा दर्ता हुन गएको २३४ विघा ५ कठ्ठा १५ धुर जग्गा सरकारको नाममा कायम गरिएको उनले बताइन् ।

मन्त्री अर्यालका अनुसार नेपाल–भारत सीमाका एक हजार ९३ सीमास्तम्भ निर्माण र ८९० सीमा स्तम्भ मर्मत गरिएको छ ।

आफ्नो कार्यकालमा भूमिसुधार तथा मालपोत र नापी कार्यालयलाई आधुनिक तथा सेवाग्राहीमैत्री बनाउन सुरु गरिएको, मालपोत कार्यालयहरु अनलाइन प्रणालीमा लगिएको र एक सय आठवटा कार्यालय अनलाइन प्रणालीमा आवद्ध भइसकेको पनि उनले जनाइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७