नेपालले आज मलेसियासँग टी–२० क्रिकेट खेल्दै


१७ फाल्गुन २०७६, शनिबार
Nepali cricekt team scaled

काठमाडौं, १७ फागुन । एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (शनिबार) मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डमा आजदेखि सुरु हुने एसीसी इस्टर्न रिजन टि–२० प्रतियोगितामा नेपालले मलेसियासँग पहिलो खेल खेल्ने भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा थाइल्याण्ड र सिंगापुर प्रतिष्पर्धा गर्दैछन् ।

थाइल्याण्डको बैंककमा दिउँसो १२ः१५ बजे सुरु हुने खेलमा नेपाल मलेसियालाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । उपाधिको लक्ष्यका साथ थाइल्याण्ड पुगेको नेपाली टोलीको मनोबल उच्च रहेको छ ।

प्रतियोगितामा नेपाल सहित आयोजक थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङ सहभागी छन् । नेपालले दोस्रो खेल मार्च १ मा हङकङ, तेस्रो खेल मार्च ४ मा थाइल्याण्ड र अन्तिम खेल मार्च ६ तारिख सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टोली एसिया कपका लागि छनोट हुनेछन् ।

हेड टू हेड

मलेसिया नेपालको पुरानो प्रतिद्वन्द्वी हो । टि–२०मा नेपाल र मलेसिया १३ वर्षअघि पहिलो पटक प्रतिष्पर्धा गरेका थिए । सन २००७ मा भएको एसीसी टि–२० मा नेपाल २१ रनले विजयी भएको थियो । त्यसको दुई वर्षपछि भएको सोही प्रतियोगितामा मलेसिया ६ विकेटले विजयी भयो ।

सन् २०१३ मा नेपालमा भएको संस्करणमा घरेलु टिम १९ रनले विजयी भएको थियो भने सन् २०१८ मा नेपाल आठ विकेटले विजयी भएको थियो । पछिल्लो तीन खेलमा भने नेपालले सबै खेल जितेको छ ।

गत साउनमा भएको मलेसिया भ्रमण अन्तर्गत दुई वटा खेलमा टि–२० सिरिजमा नेपालले घरेलु टिमलाई हराएको थियो । पहिलो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपाल ६ रनले विजयी भएको थियो ।

त्यसको लगत्तै भएको टि–२० विश्वकपका लागि एसियाली छनोट प्रतियोगितामा पनि नेपालले मलेसियालाई ८३ रनमा समेट्दै सात विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७