टी २० क्रिकेटमा नेपाल मलेसियासँग एक दशकपछि पराजित 


१७ फाल्गुन २०७६, शनिबार
nepalvs Malaysia

काठमाडौं, १८ फागुन । टी २० क्रिकेटमा नेपालले मलेसियासँग एक दशकपछि हार ब्यहोरेको छ । थाइल्याण्डमा भइरहेको एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा २२ रनले पराजित हुँदै सन २००९ पछि पहिलो पल्ट मलेसियासँग नेपाल पराजित भएको हो ।

सन २००९ मा भएको एसीसी टि–२० मा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको त्यसपछि नेपालले जित्दै आएको थियो । 

थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा मलेसियाले दिएको  १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९. ५ ओभरमा १ सय ३२ रनमा अल आउट हुन पुग्यो ।

 नेपाललाई जितको लागि अन्तिम ओभरमा २३ रन चाहिएको थियो । तर नेपालले शर्विन मुनियन्डेले कुनै रन नदिई ३ विकेट लिएपछि नेपाल पराजित हुन पुग्यो । 

नेपालको ओपनर कुशल मल्ललाई पहिलो ओभरको दोस्रो बलमै पवनदीप सिंहले अहमद फैजबाट शुन्यमा क्याच आउट गराए । त्यसपछि क्रिजमा आएका पारस खड्का र ज्ञानेन्द्र मल्लले २१ रनको साझेदारी गरे । पारस खड्का ९ रन बनाएर आउट भए । त्यसपछि कप्तान मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले ६७ रनको साझेदारी गरेका थिए ।

टिमको स्कोर ८९ रन हुँदा कप्तान मल्ल आउट हुन पुगे । उनी ३८ रन बनाएर पभेलियन फर्किएका हुन् । मल्लले ३३ बल फेस गर्दा तीन चौका र एक छक्का प्रहार गरे । चौथो विकेटको रुपमा नेपालले दीपेन्द्रलाई गुमायो । दीपेन्द्र पनि व्यक्तिगत ३८ रन बनाएर आउट भएका हुन् । उनले ४० बल फेस गर्दा एक चौका प्रहार गरे । पाँचौं विकेटको रुपमा पवन शर्राफ आउट हुन पुगे । १४ बलमा १९ रन बनाएका पवनले एक छक्का र एक चौका प्रहार गरेका थिए ।

छैटौं विकेटको रुपमा आरिफ शेख १२४ को स्कोरहुँदा आउट भए पछि नेपाल दबाबमा आएको थियो । आरिफ व्यक्तिगत ५ रनमा पभेलियन फर्किएका हुन् । १८.२ ओभरमा १२९ रन हुँदा करण केसी सातौं विकेटको रुपमा आउट भए । करण २ रनमा आउट भएका हुन् । आठौं विकेटको रुपमा विनोद भण्डारी १९.२ ओभरमा नेपालको स्कोर १३२ रन हुँदा आउट भए । उनी ७ रनमा आउट भए । त्यसपछि सन्दीप नवौं विकेटको रुपमा १ रन बनाएर आउट भए ।

लगत्तै सुशन भारी पनि आउट भएपछि नेपाली टिम १ बल बाँकी छदै १३२ रनमा रोकिन पुग्यो । मलेसियाका श्रविन मुनिडीले ४ विकेट लिँदा पवनदीप जगजित सिंह, सेदरुल इद्रिस, खैजर हायातले दुई दुई विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको  मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । मलेसियका लागि युवा ब्याट्सम्यान सैयद अजिज ३५ बलमा ४ चौका र २ छक्का सहित ५१ रनमा अविजित रहे । त्यस्तै अमिनुदीन राम्ली १८ बलमा २ चौका र १ छक्का सहित २९ रनमा क्याच आउट भए ।

एक समय १३.५ ओभरमा ८९-५ को कमजोर अवस्थामा रहेको मलेसियालाई अजिज र रम्लीले छैटौं विकेटका लागि ३५ बलमा ६३ रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफलमा पुर्याए ।

मलेसियकाे सुरूवात भने राम्राे थिएन् । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले तेस्रो ओभरको दोस्रो बलमा ओपनर विरनदीप सिंहलाई पवन सरार्फबाट ३ रनमा क्याच आउट गराएका थिए । भने उक्त विकेटसँगै टी–२० क्रिकेटमा  आफ्नो टि ट्वान्टी करिअरको एक सय विकेट पुरा गरे ।

टी–२० क्रिकेटमा सन्दीपले लिए ऐतिहासिक १०० विकेट

लगत्तै अर्को बलमा सन्दीपले खिजार हायतलाई पवनबाटै शुन्यमा क्याच गराउँदै उत्कृष्ट सुरुवात दिलाए । लगातार दुई विकेट गुमाएको मलेसियालाई तेस्रो विकेटका लागि ओपनर मोहम्मद अनवार अरुदीन र कप्तान अहमद फैजले ३८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

तर सन्दीपलेनै नवौं ओभरको पाँचौ बलमा अरुदीनलाई पवनबाटै ३१ रनमा क्याच गराउँदै उक्त साझेदारी तोडे । अरुदीनले २९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । चौथो विकेटका लागि अहमद फैज र सैद अजिजले ३४ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए ।

१४ औं ओभरको दोस्रो बलमा अभिनाश बोहराले अहमद फैजलाई ३० रनमा बोल्ड आउट गरे । फैजले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे । अभिनाशले पाँचौ बलमा मोहम्मद आरिफलाई पनि १ रनमा बोल्ड आउट गरे सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए ।

सुशन भारीले ३ ओभरमा २६ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । अभिनाश बोहराले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । पवन सरार्फले २ ओभरमा १७ रन खर्चिए । पारस खड्काले ३ ओभरमा २० रन खर्चिए । करण केसीले ४ ओभरमा २९ रन खर्चिएर १ विकेट लिए । 

नेपालले दोस्रो खेलमा आइतबार हङकङसँग खेल्ने छ ।

   पाँच टिम सहभागी यो प्रतियोगिता लिगका आधारमा सञ्चालन भएको छ । इस्टर्न रिजनका शीर्ष २ टिमले वेस्टर्न रिजनका शीर्ष २ टिमबीच एसियाकप क्वाली फायरका लागि प्रतिस्पर्धा हुने छ ।  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७