ताप्लेजुङ समाजको ‘वृहत पदयात्रा’ सम्पन्न


१७ फाल्गुन २०७६, शनिबार
padyatra 4 1

काठमाडौं, १७ फागुन । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर काठमाडौंमा ताप्लेजुङबासीको एकता र स्वास्थ्यका लागि ट्रेकिङ भन्ने उद्देश्यसहित आयोजित ‘वृहत पदयात्रा कार्यक्रम’ सम्पन्न भएको छ।

ताप्लेजुङ समाजले शनिबार आयोजना गरेको पदयात्रा बूढानीलकण्ठ मन्दिरबाट सुरु भई मुहानपोखरी, नागी गुम्बा, नारायणडाँडा हुँदै पुनः बूढानिलकण्ठमा आएर समापन भएको थियो। करिब १५ किलोमिटर दूरीको पदयात्रामा ताप्लेजुङबासी, विदेशी पर्यटक तथा अन्य जिल्लाका नागरिकसहित १५ सय बढी पदयात्रीले सहभागी भएका थिए।

यसअघि पदयात्राको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेशकुमार भट्टराई र पूर्वमन्त्री गगनकुमार थापाले संयुक्तरूपमा गरेका थिए।padyatra 1

 

उद्घाटनका क्रममा मन्त्री भट्टराईले ताप्लेजुङबासीको एकता र स्वास्थ जीवनशैलीका लागि हाइकिङले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले मन्त्री हुनु अघिसम्म दैनिकजसो शारीरिक व्यायामका लागि क्लब जाने गरेको स्मरण गर्दै निरन्तर शरीरलाई स्वस्थ राख्न नियमित व्यायाम गर्न सुझाव दिए।

पर्यटन प्रवर्धनका निम्ति काठमाडौंमा ताप्लेजङ समाजले गरेको पदयात्रा कार्यक्रमपछि बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचार–प्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवर्धनको काम सरकार केन्द्रीत भएको जानकारी गराएका छन् । परिस्थिति अनुकूल नहुँदासम्म आन्तरिक पर्यटनलाई जोड दिंदै नीतिहरु अगाडि बढाउने तयारीमा मन्त्रालय रहेको मन्त्री भट्टराईले जानकारी गराएका छन् ।

padyatra 2

कोरोनाका कारण नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउन लक्ष्यलाई असर पुगेको उनले बताएका छन् । विश्वबजार कोरोनाबाट प्रभावित बन्दै गएको सन्दर्भमा आएका सुझाबलाई मध्यनजर गर्दै तत्काल विदेशमा हुने कार्यक्रम स्थगित गरिएको उनले बताएका छन् ।

‘अब विदेशमा हुने पर्यटन प्रचार–प्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवर्धनको काममा बढी केन्द्रीत हुन्छौं’, उनले भने, ‘आन्तरिक पर्यटनमा जोड दिंदै नीतिहरु अगाडि बढाउँछौं । जब परिस्थिति अनुकूल हुन्छ, त्यसपछि हामी फेरि सक्रियताका साथ भ्रमण वर्षको प्रवर्धनात्मक काममा अगाडि बढ्छौं ।’ कोरोनाले विश्वका शक्ति राष्ट्रहरुको व्यापार व्यवसाय, उद्योगधन्दामा पनि असर गरेको मन्त्री भट्टराईले बताएका छन् ।

padyatra 4

पूर्वमन्त्री थापाले स्वस्थ रहन पदयात्रा विशेष रहने बताए। आफू पनि समय–समयमा पदयात्राका लागि निस्कने गरेको उनले सुनाए। ताप्लेजुङबासीको उल्लासमय सहभागितासहित आयोजित पदयात्रा कार्यक्रमले सम्पूर्णमा स्वस्थरहन पदयात्राको महत्त्व प्रस्ट्याउने धारणा राखे।

पदयात्रा कार्यक्रम ताप्लेजुङबाट काठमाडौं बसोबास गर्दै आएका नयाँ पुस्तामा ग्रामीण परिवेशको झल्को दिनका साथै ताप्लेजुङका विभिन्न पर्यटकीय क्षेत्रको परिचयात्मक फोटो प्रदर्शनीसहित सम्पन्न गरिएको हो।

 

बढ्दो सहरीकरण र आलश्य जीवनशैलीबीच स्वःस्फूर्त शारीरिक कसरतको बानी बसाल्न सहयोगी हुने अपेक्षासहित पदयात्रा आयोजना गरिएको कार्यक्रम संयोजक रमेश बरालले बताए। पदयात्रा कार्यक्रमा सहभागीहरूमध्ये तीनजना पुरुष तथा तीनजना महिला ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो। साथै, पदयात्रामा सहभागी तीनजना प्रकृतिप्रेमी बालबालिकालाई पुरस्कृत गरिएको थियो।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७