१० मिनेटको दृष्य सीसीटीभी फुटेजमा नदेखिंदा रहस्यमै छुप्यो मुना हत्याको कारण


१८ फाल्गुन २०७६, आईतवार
muna karki 2

काठमाडौं, १८ फागुन । पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या र कामदार विजय चौधरीको आत्महत्याको घटना भएको आज २० दिन पूरा भइसकेको छ ।

घटना लगतैदेखि प्रहरीले हत्या र आत्महत्याको घटनालाई छानविन शुरु गरेको भए पनि अहिलेसम्मको उपलब्धी भने शून्य बनेको छ । २० दिनको अवधिमा प्रहरीको अनुसन्धान पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुनाको कामदार चौधरीले नै हत्या गरी आफूले आत्महत्या गरेको भन्ने बाहेक घटनाको कारण के थियो भन्ने पत्ता लगाउन असमर्थ देखिएको छ ।

हत्यापछि चौधरीले डोरीको पासो लगाएर आत्महत्या गरिसकेकाले कारण पत्ता लगाउन कठिन भएको ललितपुर प्रहरी परिसर जावलाखेलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राई बताउँछन् । तर, प्रहरीले अहिले पनि अनुसन्धान जारी नै राखेको उनले बताएका छन् ।

माघ २७ गते कार्की पत्नी मुना घरमै अर्धचेत रगतको आहालमा फेला परेकी थिइन् । उनलाई तत्काल स्टार अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरे । घटनाका बेला पूर्वसचिव कार्की पशुपति दर्शनका लागि गएका थिए । यस्तै महिला कामदार मीना कोइराला कार्की दम्पत्तिका १२ वर्षीय छोरालाई स्कुल पु¥याउन गएकी थिइन् । घटना भएका बेला घरमा मुना र चौधरी मात्र थिए ।

घर बाहिर रहेको क्लोज सर्किट (सीसी) क्यामरामा बिहान १० बजेर ८ मिनेट जाँदा मुना भान्सामा देखिएकी थिइन् । त्यसको केही वेरमा चौधरीले घाँटी अँठ्याएको देखिएको थियो । तर, भुइँमा लडिसकेपछि करिब १० मिनेटको दृष्य भने फुटेजमा देखिँदैन । अहिले सीसीटीभीमा नदेखिएको १० मिनेटको समयकै गर्भमा मुनाको मृत्युको रहस्य पनि हराइरहेको अवस्था छ ।
मोबाइल परीक्षणले पनि दिएन उपलब्धि

प्रहरीले अनुसन्धानका क्रममा मुना र विजयको मोबाइल फरेन्सिक जाँचका लागि पठाएको थियो । तर, प्रहरी प्रधान कार्यालयमा रहेको डिलिटल फरेन्सिक प्रयोगशालाले पठाएको तथ्यमा अपराधको मनसाय पुष्टि हुन सक्ने कुनै आधार नभेटिएको अनुसन्धान अधिकृतहरु बताएका छन् । प्रयोगशालाले डिलिट गरिएका फोटो, म्यासेज लगायत अन्य सामग्री निकालेको थियो । प्रहरीले घरमा कार्यरत महिला कामदार कोइराला, प्लम्बर रमेश क्षेत्री, सवारी चालक लगायतको पनि बयान लिइसकेको छ ।

विजयले घरमा रहेको पिर्का पहिले मुनाको टाउकोमा प्रहार गरेको प्रहरी बताउँछ । पिर्काबाट मात्रै मृत्यु हुने अवस्था नभएकाले घाँटीमा डोरी कसेको हुनसक्ने बताइएको थियो । यसलाई पुष्टि गर्ने गरी पाटन अस्पतालले पोष्टमार्टम रिपोर्ट दिइसकेको छ ।
कार्कीको मोवाइल प्रहरीको नियन्त्रणमा, बयानको तयारी
मुना कार्कीको हत्याको अनुसन्धानका लागि पूर्व सचिव अर्जुन कार्कीलाई पनि पक्राउ गरी बयान लिइनु पर्ने सर्वसाधरण नागरिकले बताउँदै आएको छ । तर, अहिलेसम्म प्रहरीले अर्जुन कार्कीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउने काम भने गरेको छैन ।

अर्जुन कार्की र मुनाबीचको सम्बन्ध केहि तितोपन रहेको स्थानीय बताउँछन् । यस्तै कार्कीले आफ्नो मोवाइलमै घरको सीसीटीभीको दृष्य हेर्न मिल्ने व्यवस्था गरेका समाचारहरु समेत बाहिरिएका छन् । जसका कारण सर्वसाधरणको शंकाको घेरा पूर्व सचिव अर्नुन कार्की समेत परेका छन् । प्रहरीले कार्कीको मोवाइल नियन्त्रणमा लिएको बताएको छ । यस्तै आवश्यक परेको खण्डमा बयान लिइने समेत बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७