‘गोर्खालीहरु नेपालमा खान नपाएर संसारभरी पुगेका होइनन्’


२६ पुष २०७४, बुधबार
devraj rai

चाइल्ड वेलफेयर स्किम र गोर्खा सेमेइट्रिजको संयुक्त आयोजनामा (२० जनवरी हङ्ककङ्गमा ‘गोर्खा ट्रेल ब्लेजर’ हुँदैछ । कार्यक्रममा अल्ट्रा धावकहरु, गोर्खा भेट्रानहरु, हङ्ककङ्गका चर्चित अल्ट्रा रनरहरु सहभागी हुनेछन् । गोर्खा ट्रेल ब्लेजर आयोजक समितिका मिडिया संयोजक समेत रहेका देवराज राई यो अभियानका एक जना अभियान्ता हुन् । हङ्ककङ्गमा शिक्षण पेशासँगै गोर्खाहरुको अनुसन्धान र अभिलेखीकरणमा संग्लन राईसँग ‘गोर्खा ट्रेल ब्लेजर’ का बारेमा नयाँ पेजले गरेको कुराकानी :-

devraj rai

 आगामी २० जनवरी २०१८ ‘गोर्खा ट्रेल ब्लेजर’ गराउँदै हुनुहुन्छ, यो ‘गोर्खा ट्रेल ब्लेजर’ भनेको चाहीं के हो ?
देवराज– गोर्खा ट्रेल ब्लेजरः फर द ब्रेभेष्ट अफ द ब्रेभ एक हङ्ककङ्गको पाट सिङ लेन क्षेत्रमा आयोजना गरिन लागेको अन्तर्राष्ट्रियस्तरको ट्रेल रन इभेन्ट हो । गोर्खा ट्रेल ब्लेजर हङ्ककङ्गमा पहिलो पटक आयोजना गर्न लागिएको नयाँ अल्ट्रा रेस हो । यसको आयोजना चाइल्ड वेलफेयर स्किम र गोर्खा सेमेइट्रिजले संयुक्त रुपमा गर्न लागेको एक च्यारिटी रेस हो ।

 ‘गोर्खा ट्रेल ब्लेजर’ गराउनुको मुख्य उद्देश्य के हो ?
देवराजः गोर्खा नाम एक बृहत र अति सम्मानित नाम हो । गोर्खाहरु आत्मबलिदान, त्याग, इमान, इज्जत र बहादुरीका लागि परिचित छन् । भनौं, गोर्खाहरु विश्व चर्चित छन् । गोर्खा एक वीर साहसीको नाम हो । तसर्थ हङ्ककङ्गमा हाम्रा पूर्वजहरु १९४८ सालपछि आउनु भयो । गोर्खाहरु यहाँ किन, कसरी, केका लागि आए त्यो त नेपाल सरकारले भन्ने कुरा हो ।

किन पठाए त्यसको जिम्मेवारी पनि उनीहरुकै हो । एक साधारण गोर्खा इतिहासको खोजकर्ता र गोर्खाली सन्तति भएको नाताले हामीले हाम्रा पुर्खाहरुको यति महान त्याग र बलिदानलाई भुल्नु हुँदैन भन्ने लाग्यो । २०४ वर्षको इतिहास साधारण पनि त होइन । हामीले पुर्खाहरुको अक्षुण सत्य–तथ्यहरु विश्लेषण गर्दै लैजानु पर्ने आवश्यकता छ । वर्तमान नेपालले गोर्खाहरुलाई सम्झेको छैन । यसै कारण पहिलो तथा र दोस्रो विश्व युद्धहरुमा हताहत भएका वीरहरुका पनि वीर गोर्खाहरु जसले विश्व शान्तिका लागि रगत बगाए उनीहरुलाई सम्मान दिने, गोर्खा विश्व इतिहासलाई विश्व मूलधारको इतिहासमा जोड्न सकियोस् भनि गोर्खा ट्रेल ब्लेजर आयोजना गरिएको हो ।

‘गोर्खा ट्रेल ब्लेजर’ मा को–को सहभागी हुनेछन् ?
देवराजः गोर्खा ट्रेल ब्लेजरमा विश्वभरका गोर्खाहरुको त्यागलाई सम्मान गर्ने अल्ट्रा धावकहरु, गोर्खा भेट्रानहरु, हङ्ककङ्गका चर्चित अल्ट्रा रनरहरु सहभागी हुनेछन् ।

 

Dev Raj rai
सन् १९९७ साल अघि १९४८ यता गोर्खा सैनिकहरुले हङ्ककङ्गको बिकास र सुरक्षामा ठूलो भूमिका निर्वाह गरेका छन् । तर, आज गोर्खाहरुको योगदानलाई भुलिएको हो ?
देवराजः भुलिएको नै चाँही होइन, चासो, वास्ता र फिक्री गर्नेहरुको अभाव चाँही पक्कै हो । किनभने हाम्रो आफ्नै नेपाल सरकारसँग त हाम्रोबारे लेखाजोखा छैन । किन पठाइयो ? किन यी समुदायहरुलाई छानी–छानी मर्न पठाइयो ? गोर्खाहरुको योगदानलाई उल्लेख नगराएका कारण नै हो हामीले गोर्खा ट्रेल ब्लेजर अर्थात पुर्खा दिवस मनाउन थालेका हौं । विभिन्न विश्व विद्यालयहरुको सहकार्यमा थुप्रै कार्यक्रमहरु भईरहका छन् ।

हङ्ककङ्ग चीनमा हस्तान्तरणपछि यो ठाउँमा काम गर्नु पनि त्यति सहज छैन । हङ्ककङ्गमा धेरै लामो समयसम्म यहाँको मानवीय काम गरेर प्रतिष्ठा कमाएका गोर्खाहरुको बारेमा हामीले कहींकतै उल्लेख गर्न सकेनौं । न त हामीले यहाँको संग्राहलयहरुमा पायौं, न त पाठ्यक्रमहरुमा । त्यसैले एक गोर्खाको सन्तान भएका नाताले गोर्खाहरुको ५० औं वर्षको योगदानलाई हामी त्यतिकै हराउन दिन पनि हाम्रो मनले मानेन । हामी हात बाँधेर बस्न पनि सकेनौं । तसर्थ गोर्खाहरुको सम्मानमा यस भूमिमा हामी अहिलेको चर्चित खेल ट्रेल रनमार्फत गोर्खाहरुलाई सम्मान गर्न लागेका छौं । ट्रेल रन हाम्रा पुर्खाहरुले उहिल्यैदेखि खेल्दै आएको खेल हो र यस खेलमार्फत स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरु पनि ठूलो श्रद्धाले सहभागी हुनुहुन्छ ।

नयाँ पुस्ताले त झनै गोर्खाहरुको योगदानको इतिहास भुलियो भन्छन् नि ?
देवराज : हो हामी अवश्य पनि एशिमिलेसनमा परेका छौं । हाम्रा नवपुस्ताहरुले नभुलुन भनि पुर्खा दिवस भव्यरुपमा विधार्थीहरुको संलग्नतामा मनाउँछौं । जसमा प्राथमिक, माध्यमिक र विश्व विद्यालयस्तरका विधार्थीहरु, इतिहासविदहरु्को उपस्थितिमा हामीले पुर्खा दिवस जस्ता कार्यक्रमहरु ग्र्छौ । यसका साथै विद्यालयस्तरमा पाठ्यक्रम विकास गरी पाठ्य सामाग्रीहरु निर्माण गरी अगाडि बढेका छौं । तर, वर्तमान नेपालमा यति लाखौं हताहतीलाई वेवास्ता गरेको देखेर दुःख लाग्छ । हामीले ४० हजार अधिक हताहती भएकाहरुको नाम संकलन गरेका छौं । तर, नेपाल सरकार जसले तथ्याङ्क राख्नुपर्ने उहीसँग छैन । तर, दोष जति बेलायतलाई देखाएर बसिरहेको छ । हामी बेलायतका लागि युद्ध गरेको भन्नु चाँही आंशिक सत्य हो । तर पूर्णरुपमा हामी मान्दैनौं । तत्कालीन अवस्थामा ती युद्धहरुमा जानु, इष्ट इण्डियामा जानु नेपाल सरकारको पक्षमा नै थियो ।

गोर्खा ट्रेल ब्लेजर एक च्यारिटी रेस हो भनिएको छ, यहाँबाट संकलित रकम केमा प्रयोग गर्नु हुन्छ ?
देवराजः गोर्खा ट्रेल ब्लेजर एक च्यारिटी रेस हो । हामीले चाइल्ड वेलफेयर स्किमसँग सहकार्य गरेका छौं । स्किमले नेपालमा बालबालिकाहरुको हितमा प्रशस्त काम गरेको छ । यो हङ्ककङ्गको एक प्रतिष्ठित च्यारिटेबल संस्था हो । यसबाट संकलित रकम त्यही संस्थाहरुलाई जानेछ । केही प्रतिशत रकम अनलाइनमार्फत इन्टरनेशनल स्कुलहरुमा अध्ययनरत विधार्थीहरुको छात्रवृत्ति (स्कलरसीप) मा खर्च गरिने छ ।

‘गोर्खा ट्रेल ब्लेजर’ लाई विश्वभरीका गोर्खालीहरुले कसरी सहयोग गर्न सक्छन् ?
देवराजः गोर्खा ट्रेल ब्लेजरलाई विश्वभरका गोर्खालीहरुले नैतिक समर्थन दिए मात्र पनि पुग्छ । हाम्रा कुराहरु १ मिनेट ध्यान दिएर सुने मात्र पनि हामी सफल हुनेछौं । हामीले यो रेस आर्थिक उपार्जन गर्नका लागि गरेका होइनौं । गोर्खा इतिहास् चानचुने इतिहास पनि होइन । पहिले आफू को हो ? चिनौं–जानौं । नयाँ पुस्ताहरुलाई सम्भव भएसम्म हाम्रो त्याग, बलिदानहरुको बारेमा जानकारी गराऊ । हामी नेपालमा खान नपाएर भोकमरीको शिकार भएर संसारका विभिन्न ठाउँमा पुगेका होइनौं ? हङ्ककङ्गमा पनि आएका होइनौं । कृपया यति कुरा बुझौं ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७