अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्रीले आज ऐतिहासिक निर्णय गर्दै


१९ फाल्गुन २०७६, सोमबार
kp sharma oli pm

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) दोस्रोपल्ट मिर्गाैला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना हुँदैछन् ।

प्रधानमन्त्री ओलीले आफू अस्पताल भर्ना हुनुअघि समृद्ध नेपाल र सुखी नेपालीका लागि ऐतिहासिक निर्णय गर्ने भएका छन् ।

उनले अहिले बिहान ९ बजेपछि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने राष्ट्रिय योजना आयोगको १५ औं पूर्ण बैठकको अध्यक्षता गर्दैछन् । प्रधानमन्त्री आयोगका अध्यक्ष हुन् । यसमा राष्ट्रिय योजना आयोगको टिम, अर्थमन्त्री, मुख्य सचिव, अर्थ सचिवलगायत ८ सदस्य छन् ।

यो बैठकले समृद्धि र सुखका विषयमा ऐतिहासिक निर्णय गर्ने राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीले जानकारी दिएका छन् । ‘यो बैठकले नेपाललाई अल्पविकसित राष्ट्रबाट मध्यम आयस्तर भएको मुलुकमा परिणत गर्न महत्वपूर्ण निर्णय गर्दैछ,’ प्रवक्ता शाहीले सुनाए, ‘यो नीतिगत रूपमा ठूलै छलाङ हुनेछ ।’

यो १५औं बैठकले समृद्धिका चार र सुखका ६ परिभाषा गर्दै त्यो प्राप्तिका लागि नीतिगत निर्णय गर्नेेछ । दिगो आर्थिक विकासमा जोड दिँदै यो बैठकले योजना पास गर्ने उनको भनाइ छ । नेपालको आर्थिक विकास र समृद्धिका लागि यो अहिलेसम्मकै ठूलो र परिवर्तनकारी नीतिगत निर्णय हुने उनको दाबी छ ।

विस्तृत विवरण भने बैठकको निर्णयपछि सार्वजनिक गरिने राष्ट्रिय योजना आयोगले जनाएको छ । बैठक सकेर प्रधानमन्त्री ओली मिर्गाैला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल जाने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७