साढे ३७ लाख घुस आरोपमा इन्जिनियर बस्नेतलाई भ्रष्टाचार मुद्दा


१९ फाल्गुन २०७६, सोमबार

काठमाडौं, १९ फागुन । साढे ३७ लाख घुस लिएको आरोपमा पक्राउ परेका शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका सिनियर डिभिजनल इन्जिनियर सुबास बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर बस्नेतविरुद्ध सडक ग्राभेलको रकम भुक्तानीका लागि बिल बनाई दिए बापत सेवाग्राहीसँग ३७ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको हो ।

इन्जिनियर बस्नेतले सेवाग्राहीलाई उक्त रकम बर्दघाट सुस्ता पूर्व नवपलपरासीस्थित श्री डिस्ट्रीलरी प्रालिको नाममा रहेको बैंक खातामा जम्मा गर्न लगाएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

अनुसन्धानको क्रममा डिस्ट्रीलरीका अध्यक्ष धनेन्द्र कार्की र इन्जिनियर बस्नेतबीच नजिकको सम्बन्ध देखिएको आयोगको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । प्रवक्ता कोइरालाका अनुसार बस्नेतले झापाको गौरीगञ्ज र अर्जुनधारा क्षेत्रमा सडक ग्राभेलको कामको बिल बनाई दिए बापत सेवाग्राहीलाई उक्त रकम डिस्ट्रीलरीको खातामा जम्मा गर्न लगाएका थिए ।

डिस्टिलरीका अध्यक्ष कार्कीले इन्जिनियर बस्नेतलाई घुस लिन सहयोग गरेको र घुस रकमबाट आफूले पनि लाभ लिने गरेको देखिएकोले उनिविरुद्ध पनि मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७