एसएसपी थापाको टोलीले प्रचण्डलाई जुत्ता हानिएको घटनाको छानबिन गर्ने, तिरुवालाई मुद्दा


१९ फाल्गुन २०७६, सोमबार
prachanda lai juta

काठमाडौं, १९ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गरेर आइतबार राष्ट्रियसभा गृहमा भएको जुत्ता प्रहारको घटना छानबिनका लागि एक प्रहरी वरिष्ठ अधिकृत (एसएसपी) नेतृत्वमा समिति गठन भएको छ ।

उपत्यकामा हुने विशेष प्रकृतिको अपराध अनुसन्धान गर्ने जिम्मेवारी पाएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिम्सिना सदस्य छन् ।
समितिले सो घटनाको छानबिन सकेर तीन दिनभित्र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा प्रतिवेदन बुझाउने जनाइएको छ ।

आइतबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको स्मृतिसभामा प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । घटनामा संलग्न जुम्लाका रतन तिरुवा पक्राउ परेका छन् । प्रहरीको बयानमा तिरुवाले प्रचण्डले वर्ग संघर्षबारे दिएको भाषण चित्त नबुझे र आवेशमा आएर जुत्ता हानेको बताएका छन् । तिरुवामाथि अप अनुसन्धानका लागि म्याद थपको प्रक्रिया चलिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७