कोरोनाका कारण बहराइन जाँदै गरेका ३० नेपाली दुबईबाट फिर्ता


१९ फाल्गुन २०७६, सोमबार
tribhuvan airport nepal

काठमाण्डौं, १९ फागुन । नेपाल कोरोनाको उच्च जोखिममा रहेको भन्दै रोजगारीका लागि बहराइन जान लागेका ३० जना नेपालीलाई यूएई सरकारले दुबईबाट फिर्ता पठाइदिएको छ ।

नेपालको बहराइनसँग सिधा उडान नभएकाले दुबई हुँदै जान लागेका उनीहरुलाई नेपाल कोरोनाको उच्च जोखिममा रहेको देश भएको आधारमा फिर्ता पठाएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए ।

यसैबीच सरकारले अत्यावश्यक काम बाहेक विदेश नजान नेपालीलाई आग्रह गरेको छ । कोभिड–१९ अर्थात कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले अत्यावश्यक काम भएका बाहेकलाई विदेश नजान आग्रह गरिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले चीन, जापान, दक्षिण कोरिया, इरान लगायत कोरोना प्रभावित देशमा ट्राभल एडभाइजरी नै जारी गरिएको र अरु देशमा जाने नागरिकलाई पनि सकेसम्म नजान आग्रह गरिएको जानकारी दिए ।

यस्तै कोरोना भाइरसको प्रकोपलाई दृष्टिगत गर्दै  नेपालले १३ मुलुकका नागरिकलाई त्रिभुवन विमानस्थलबाट अन अराइभल भिसा बन्द गरेकाे छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको आइतवार बसेको बैठकले नेपाल आउने सबै विदेशीले निरोगिताको प्रमाणपत्र देखाउनुपर्ने निर्णय पनि गरेको छ ।

साथै नेपाल भ्रमण वर्ष २०२० पनि स्थगित गर्ने सरकारको तयारी छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकमा भ्रमण वर्ष स्थगित गर्ने बारेमा छलफल भएको थियो ।

सरकारले देशभित्र पनि भोजभतेर तथा सभा, सम्मेलन नगर्न पनि अनुरोध गरेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७