सुख्खा पहिरो खस्दा एक्स्काभेटर अपरेटरको मृत्यु, बेनी-जोमसोम सडक बन्द


२० फाल्गुन २०७६, मंगलवार

म्याग्दी, २० फागुन । बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका ४ घाँसाको घैपुमा सोमबार सुख्खा पहिरो खस्दा एक जनाको ज्यान गएको छ ।

सडक खनिरहेको अवस्थामा सडकमाथिबाट खसेको सुख्खा पहिरोले एक्स्काभेटर घैपुखोलामा खस्दा एक्स्काभेटर अपरेटरको ज्यान गएको स्थानीयले जानकारी दिएका छन् । ज्यान जानेमा सिन्धुपाल्चोक घर भएका अर्जुन दाहाल रहेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिएका छन् ।

सडक सफा गरिरहेको एक्स्काभेटर खोलामा खस्दा दाहालको एक्स्काभेटरको चेनले च्यापिएर ज्यान गएको हो । डोजरको चेनले च्यापिएको अवस्थामा रहेको हुँदा उनको शव निकाल्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।

एक्स्काभेटर सडकबाट झण्डै तीन सय मिटर तल घैपुखोलामा खसेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । पहिरोले बसलाई समेत क्षति पुर्‍याएको छ ।

घटना भएलगत्तै नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयवासी घटनास्थल पुगेर उद्धारको प्रयास गरेका थिए । सुख्खा पहिरो खसेसँगै बेनी–जोमसोम–कोरला सडकखण्ड बन्द भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७