फोहर व्यवस्थापनमा एकरूपता कायम गराउन निर्देशिका सार्वजनिक


२० फाल्गुन २०७६, मंगलवार
fohor

काठमाडौं, २० फागुन । फोहर सङ्कलन र ढुवानीका लागि काम गर्ने निजी कम्पनीका सदस्यहरुले स्वनियम पालनासम्बन्धी ‘कार्यसञ्चालन, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी निर्देशिका–२०७६’ सार्वजनिक गरेका छन् ।

फोहरमैला व्यवस्थापन सङ्घले सोमबार आयोजना गरेको ‘कार्य एकरूपता, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी मापदण्ड सार्वजनिकीकरण र अभिमुखीकरण कार्यक्रम’मा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले यस व्यवस्थासम्बन्धी पुस्तिका सार्वजनिक गरेका हुन् ।

उक्त पुस्तकमा कामदारको पोशाक, सुरक्षा सामग्री, फोहरमैला सङ्कलन गर्ने समयतालिका, कार्यपद्धति, सेवाशुल्क, सेवाग्राहीसँग गरिने व्यवहारलगायत व्यवस्था राखिएका छन् । त्यस्तै कर्मचारीको आचरण तथा अन्य मापदण्ड, ल्यान्डफिलसाइटसम्म फोहरमैला ढुवानी तथा व्यवस्थापन गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्डको परिपालनाजस्ता विषय समेटिएका छन् ।

कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले स्वनियम लागू गराएर आफूलाई अनुशासित बनाउन खोज्नु सराहनीय काम भएको उल्लेख गरे । ‘महानगरको प्राथमिक काम भनेकै फोहर व्यवस्थापन गरेर शहरलाई सफाइ गर्नु हो, महानगरको यस काममा निजी क्षेत्रले ठूलो सहयोग पुर्‍याएको छ’, उनले भने ।

कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले निजी क्षेत्रको स्वनियमले उनीहरुलाई परिचालन गर्न, कामको मूल्याङ्कन गर्न, काममा एकरूपता कायम गराउन सहज हुने धारणा राखे ।

सङ्घका अध्यक्ष वासु उप्रेतीले निजी क्षेत्रको कामको विश्वसनीयता र गरिमालाई बढाउन कम्पनी तथा संस्थाले सफाइमा गर्ने कामको एकरूपता जरुरी देखिएकाले यस प्रकारको व्यवस्था गरिएको बताए । निर्देशिकाका नाममा जारी स्वनियम व्यवस्थामा छ परिच्छेद र एक अनुसूची राखिएको छ ।

फोहरमैला सङ्कलन र व्यवस्थापनका लागि हरेक सङ्घसंस्थाले स्रोतमा फोहर छुट्याउने, छुट्टिएको फोहरमध्ये जैविक फोहरलाई हप्ताको दुईपटक र अजैविक फोहरलाई एकपटक उठाउने, सङ्कलित फोहरलाई छोपेर मात्र प्रशोधन केन्द्र वा ल्यान्डफिलसाइटमा पुर्‍याउने, समुदायलाई फोहर व्यवस्थापनमा जागरुक गराउन, माइकिङ तथा तालिम गोष्ठी सञ्चालन गर्नुपर्ने, सरसफाइ नमूना क्षेत्र बनाउने, फोहरमुक्त क्षेत्र घोषणा गर्नेलगायतका काम परिच्छेदमा व्यवस्था गरिएको छ ।

फोहर सङ्कलन गर्ने गरेको क्षेत्रमा पर्ने सडक, उद्यान जस्ता सार्वजनिकस्थलमा हप्ताको एकपटक अनिवार्य झाडु लगाउनुपर्ने, फोहरको परिमाण र ढुवानी गर्नुपर्ने दूरीका आधारमा स्थानीय तहसँगको समन्वयमा शुल्क निर्धारण गर्नुपर्ने, सफाइमा काम गर्नेको एउटै प्रकारको पोशाक हुनुपर्ने, सुरक्षा उपकरण प्रयोग गर्नुपर्ने, सवारीको बीमा गर्नुपर्ने, सवारी चालक अनुमतिपत्र भएका चालकले मात्र सवारी चलाउनुपर्ने जस्ता व्यवस्था पनि निर्देशिकामा समेटिएका छन् ।

हिउँदको समयमा बिहान ६ बजेदेखि र बर्खाको समयमा बिहान ५ बजेदेखि सफाइ शुरु गरेर मुख्य सडकमा बिहान ८ बजेभित्र र भित्री सडकमा दिउँसो २ बजेभित्र फोहर सङ्कलनको काम सक्ने व्यवस्था गरिएको छ । उता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने बिहान साढे ८ बजेभित्र फोहर सङ्कलनसम्बन्धी सबै काम सक्नुपर्छ भनेको छ ।

यसमा निजी क्षेत्रमा आबद्ध भएर फोहरको काम गर्ने कर्मचारीको तलबसुविधा, औषधोउपचार, बीमा सुविधा, सेवाअवधि, सुरक्षा पोशाक जस्ता विषय व्यवस्था गरिएको छ । अनुसूचीमा फोहर उत्पादकहरुबाट लिइने शुल्कसम्बन्धी व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७