प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै छिन्नमस्तामा २४ घण्टे अनुष्ठान


२० फाल्गुन २०७६, मंगलवार
xinnamastaPuja 20200303062836

राजविराज, २० फागुन । दोस्रोपल्ट मृगौला प्रयारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती शक्तिपीठमा सोमबारदेखि २४ घण्टे अखण्ड दीप प्रज्वलन तथा धार्मिक अनुष्ठान गरिएको छ ।

नागरिक सञ्चाल सप्तरीले पहलमा शक्तिपीठमा २४ घण्टे अखण्ड दीप प्रज्वलन तथा धार्मिक अनुष्ठान थालिएको हो ।

’प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको मिर्गौला प्रत्यारोपन सफलतापूर्वक होस् तथा उहाँको अति शीघ्र स्वास्थ्यलाभको कामनासहित शक्तिपीठमा दुई दिने अखण्ड दिप प्रज्जवलन तथा धार्मिक अनुष्ठान सुरु गराएको हो,’ नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखरामयादवले भने, ‘शक्तिपीठका पीठाधिश महाकान्त ठाकुरको नेतृत्वमा एक दर्जनभन्दा बढी साधुसन्तहरुको उपस्थितिमा सो धार्मिक अनुष्ठान सुरु गराएको हो ।’

माता छिन्नमस्ताले प्रधानमन्त्रीलाई रक्षा गर्ने उनले विश्वास व्यक्त गरे । उता, मन्दिरका पीठाधिश महाकान्त ठाकुरले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभ तथा दीर्घायुको कामनासहित सुरु गरिएको धार्मिक अनुष्ठान तहत दुई दिनसम्म भजनकीर्तन, अष्टयाम, हवनसहित विशेष पूजापाठ गरिने बताए ।

‘प्रधानमन्त्रीको स्वास्थ्य लाभको लागि २४ घण्टासम्म भजनकीर्तन, अष्टयाम, हवनसहितविशेष पूजापाठ गर्नेछौं,’ उनले थपे, ‘त्यसपछि प्रसाद लिएर प्रधानमन्त्री समक्ष पुग्नेछौं ।’ प्रधानमन्त्री ओलीको आउँदो बुधवार त्रिभुवन शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गरिँदैछ । त्यसका लागि उनी सोमबार नै अस्पताल भर्ना भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७