‘विवाहित व्यक्तिको प्रेममा नपर्नुस्, पीडा कस्ता आउँछन् मैले सहेकी छु’


२० फाल्गुन २०७६, मंगलवार
neena gupta

काठमाडौं, २० फागुन । बलिउडकी दिग्गज अभिनेत्री नीना गुप्ता आजकाल इन्स्टाग्राममा ‘सच कहूँ तो’ नामबाट एउटा सिरिज चलाइरहेकी छिन् । उनी यो सिरिजमार्फत् आफ्नो नीजि जीवनसँग जोडिएका किस्सा मानिसमाझ साझा गर्ने गर्छिन् र विभिन्न घटनामा आफ्नो राय व्यक्त गरिरहन्छिन् ।

अब नीनाले एउटा नयाँ भिडियो सेयर गरेकी छिन् जसमा उनले आफ्नो नीजि जीवनसँग सम्बन्धित एक सनसनीपूर्ण खुलासा गरेकी छिन् । भिडियो सोसल मिडियामा तीब्र रुपमा फैलिरहेको छ ।

भिडियोमा नीना गुप्ताले भनिन्, ‘साँच्चै भन्ने हो भने म तपाईंलाई केही यस्ता डायलग सुनाउँछु जुन तपाईंमध्ये कतिले सुन्नु भएको पनि होला । ‘उनले मलाई उनी र उनकी श्रीमती एक अर्कालाई मन पराउँदैनन् त्यसकारण चाँडै नै अलग्गिँदै छन् भन्छन् ।’

‘यस्तोमा तपाईं एक विवाहित व्यक्तिसँगको प्रेममा पर्नु हुनेछ । तपाईं उनलाई श्रीमतीसँग अलग्गिन भन्नु हुनेछ तर उनले भन्छन्, ‘नाई…बच्चा छन् । हेरौं पछि के हुन्छ ।’

‘तपाईंलाई उनीसँग ठूलो आशा हुन्छ । तपाईंलाई उसँग बिदा मनाउन पनि जान मनलाग्छ । उनलाई समस्या हुन्छ किनभने घरबाट के भनेर निस्कने । त्यसपछि उनले झुटो बोल्छन् ।’ ‘त्यसपछि तपाईंलाई उनीसँग रात बिताउन मन लाग्छ । तपाईंले उनलाई दबाब दिन थालेपछि उनले होटल वा कुनै स्थान खोजेर तपाईंसँग रात बिताउने छन् ।’

‘पछि तपाईं उनीसँग थप रात बिताउन चाहनु हुन्छ । अन्त्यमा तपाईं उनीसँग विवाह गर्न चाहनुहुन्छ र तपाईंले उनलाई श्रीमतीसँग सम्बन्धविच्छेदका लागि दबाब दिइरहनु हुनेछ ।’

‘त्यसपछि उनले थोरै प्रतिक्षा गर्न भन्छन् । त्यति सजिलो हुँदैन । सम्पत्ति छ । बैंक अकाउन्ट छन्, धेरै कुरा हुन्छन् भन्छन् । त्यसपछि तपाईं तनावमा पर्न थाल्नु हुनेछ ।’ ‘कति पटक त तपाईंलाई उनकी श्रीमतीलाई फोन गरेर उनको बानी बारे भनिदिन मन पनि लाग्छ । अन्त्यमा यो यति जटिल हुन्छ कि ती व्यक्तिले पनि सोच्छन् कि अब यस्तो जटिल परिस्थितिमा पर्दिनँ ।’

‘त्यसपछि उनले तपाईंलाई आफ्नो जीवनबाट बाहिरिन भन्छन् । त्यसैले साँचो भन्ने हो भने कहिले पनि विवाहित व्यक्तिसँगको प्रेममा नपर्नुहोस् । मैले यस्तो गरेको छु । म चिन्तित भएकी छु । त्यसकारण मैले तपाईंलाई यो सब भनिरहेकी छु । यस्तो जञ्जालमा पर्ने कोशिस नगर्नुहोस् ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७