कोरोनाविरुद्ध लड्न विज्ञको सुझाव : आत्तिनु पर्दैन, के गर्ने, के-के खाने ?


२० फाल्गुन २०७६, मंगलवार
corona virus

  काठमाडौं, २० फागुन । चीनको बुहान शहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)का संक्रमणबाट बच्न नेपाल सकारले पूर्व सावधानी अपनाइरहेको छ । 

 सकारले पर्यटन वर्ष २०२०को विदेशमा प्रचारप्रसार स्थगित गरेको छ ।  मेला, महोत्सव रोक्न, भिडभाड गरेर फागु नखेल्न, ठूला सभा, समारोह र भोजभतेर नगर्न, नजान आग्रह गरिहेको छ । विमानस्थलदेखि अन्तर्राष्ट्रिय सीमानाकासम्म चेकजाँचको प्रबन्ध मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेले नेपालमा कोरानाका कारण आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् । उनले यदी कोरोना सरिहाल्यो भनेपनि आत्तिनु नपर्ने बताएका छन्  ।  उनले भनेका छन्,‘यसको मृत्युदर निकै कम छ । १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ । सामान्य रुघाखोकीले विश्वमा प्रत्येक वर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन ।’

 उनले सर्वसाधारणका लागि केही तथ्य राख्दै डा. पाण्डेले आत्तिनुपर्ने अवस्था नरहेको तर मनोसामाजिक तथा मनोवैज्ञानिक तयार भने रहनुपर्ने बताएका छन् ।  ‘हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ । कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन । कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोवैज्ञानिक कारणले बढी क्षति हुन्छ । तसर्थ हामीहरू मानसिक रुपमा तयार हुनुपर्दछ, मनोबल उच्च राख्नुपर्छ ।’, उनले भनेका छन् ।

  डा. पाण्डेले संकलन तथ्य –

– कोरोना कमजोर भाइरस हो । यसको संक्रमण सबैलाई हुँदैन । दीर्घ रोगी, वृद्धवृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ ।

– कोरोना र्सयो भनेपनि आत्तिनु पर्दैन । यसको मृत्युदर निकै कम छ । १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ । सामान्य रुघाखोकीले विश्वमा प्रत्येक वर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन ।

– कोरोना संक्रमणको औषधि छैन । तसर्थ उपचारमा धेरै खर्च हुँदैन । ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने, गाह्रो भएमात्र अस्पताल जाने ।

– कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ । तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन ।

– कोरोनाविरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि शहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २/३ महिनाको जोहो गर्दा राम्रो हुन्छ । जस्तैः नियमित खाने औषधि, अत्यावश्यक खाद्य पदार्थ, प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि ।

– शहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो । गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ ।

– विश्वासिलो मिडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनावश्यक मानसिक दबाब झेल्नु पर्दैन ।

– बजारमा मास्कको अभाव छ । कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ । बराबर हात धुने, सफा रहने र्गयो भने कोरोना संक्रमण सर्दैन । तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन । मास्कभन्दा पंजा महत्त्वपूर्ण छ ।

– बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट–कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ ।

– कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर (टेन्ट) आदिमा राखेर उपचार गर्छन् । विश्व स्वास्थ्य संघ, विदेशी स्वयंसेवी संस्था, विदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन् ।

– कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो । हामीकहाँ गर्मी शुरू भएको छ । तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ ।

– कोरोना भाइरसविरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ ।

– क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो । तसर्थ डराउनु पर्दैन ।

– यसको रोकथाम हाम्रो हातमा छ । भीडभाडमा नजाने, हात धोइरहने, विना काम घर बाहिर नजाने गर्दा ९०५ रोकथाम हुन्छ ।

के गर्ने, के–के खाने ?

हाम्रो आकाश तथा धरतीमा करोडौं किटाणु छन् । त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको विकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन । रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ ।

१. पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं । भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ ।

२. नियमित व्यायाम, योग, हाइकिंग गरौँ । खेल खेल्ने बानी बसालौं ।

३. घाममा बसौं ।

४. नियमित अनुलोम र विलोम गरौँ । यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ ।

५. चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं ।

६. बिहान र बेलुका नियमित १-१ चम्चा घ्यु खाने गरौँ ।

७. लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।

८. भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।

९. पर्याप्त मात्रामा सुतौं ।

१०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ ।

११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।

१२. दिल खोलेर हाँस्ने गरौँ ।

१३. नियमित चिया र कफी (दुध चिनी नहालेको) सेवन गरौँ ।

१४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ ।

१५ . सरसफाइमा अल्छी नगरौं ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७