‘विशाल विजय’ दावी गरिरहेका नेतान्याहूले यस पटक पनि बहुमत ल्याउन नसक्ने मत सर्वेक्षणको अनुमान


२० फाल्गुन २०७६, मंगलवार
Israeli Prime Minister Benjamin Netanyahu

जेरुसेलम, २० फागुन । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टी यस पटकको निर्वाचनमा पनि सबैभन्दा ठूलो पार्टीको रूपमा देखापर्ने अनुमान गरिएको छ । बहुमतको सरकार गठन हुन नसकेपछि एकै वर्षको अवधिमा भइरहेको तेस्रो आम निर्वाचनले फेरि पनि बहुमतको सरकार गठन हुन नसक्ने चुनावी मत सर्वेक्षणले देखाएको छ ।

भ्रष्टाचारको आरोपमा अदालतमा सुनुवाई हुन लागेकै अवस्थामा प्रधानमन्त्री नेतान्याहूलाई संसदमा बहुमत जुटाउन अन्य दलको समर्थन प्राप्त हुनेमा आशंका उत्पन्न भएको छ । सोमबार सम्पन्न चुनावमा लिकुड पार्टी र यसका कट्टर धार्मिक तथा राष्ट्रवादी गठबन्धनले ५९ स्थान जित्ने देखिएको छ । बहुमतका लागि यस गठबन्धनलाई दुई स्थानको कमी हुनेछ ।

प्रधानमन्त्रीका विपक्षीहरूले ६१ स्थानसहित बहुमत पाउने अनुमान गरिएको थियो । तर मुख्य चुनौती दिने ब्लू एन्ड ह्वाइट पार्टीले अपेक्षाकृत कम स्थान जित्ने अनुमान गरिएको छ । विपक्षीहरु खण्डित अवस्थामा रहेका छन् । पछिल्लो चुनावी परिस्थितिले इजरायलको राजनीतिक प्रणालीमा कठिन अवस्था अझै रहेको सङ्केत गरेका छन् ।

गए रातिदेखि नै मत गणना जारी रहे पनि आधिकारिक मतपरिणाम निकै ढिलो भइरहेको छ । मङ्गलबार बिहान करिब १४ प्रतिशत मात्र मतगणना भएको छ । प्रधानमन्त्री नेतान्याहूले राति करिब २.३० बजे आफ्ना हजारौं उत्साही समर्थकहरूको भीडलाई सम्बोधन गर्दै आफूहरु ‘विशाल विजय’ तर्फ अग्रसर भएको दाबी गरेका छन् ।

‘हामी विषम परिस्थितिमा पनि विजयोन्मुख छौं, किनकी हामी शक्तिशाली शक्तिको बिरूद्ध खडा भयौं’, उनले भने, ‘हाम्रा विपक्षीहरूले नेतान्याहू युग सकिएको दाबी गरेपनि उनीहरु नै हाम्रा प्रशंसक भएर अगाडि आएका छन् ।’

उनले सरकार गठनका लागि तत्काल नयाँ गठबन्धन निर्माण गर्ने र पश्चिमी किनाराका ठूलो भागलाई कब्जामा लिइने कट्टरपन्थी एजेन्डालाई अगाडि बढाउने दृढता व्यक्त गरे । प्रधानमन्त्रीको यस्तो कदमले प्यालेस्टाइन राज्य स्थापनाको बाँकी सम्भावनालाई निरुत्साहित गर्नेछ ।

ठूलै उत्सवका बावजूद नेतान्याहूलाई नयाँ सरकार गठन गर्न कठिनाइ हुन सक्नेछ । सुरुमा प्रधानमन्त्री नेतान्याहूकै दल विजयी हुने अनुमान गरिए पनि मत सर्वेक्षणहरुले एउटा कडा प्रतिस्पर्धाको पूर्वानुमान गरेका थिए । सर्वेक्षणले प्रधानमन्त्रीले चाहेको संसदीय बहुमत प्राप्त गर्न कठिन हुने देखाएको छ ।

यदि आधिकारिक नतिजासँग मत सर्वेक्षण मिल्दोजुल्दो देखिए नेतान्याहू विरुद्धको मुद्दाको सुनुवाई मार्च १७ मा हुन सक्नेछ । गत नोभेम्बरमा नेतान्याहूमाथि धोखाधडी, विश्वास उल्लङ्घन र घूस प्रकरणमा अभियोग लगाइएको थियो ।

इजरायली इतिहासमा बहालवाला प्रधानमन्त्रीमाथि घुस प्रकरणमा अभियोग लगाइएको यो पहिलो पटक हो । उनले आफूमाथि लागेका आरोपलाई निरन्तर अस्वीकार गरिरहेका छन् । उनको भनाईमा प्रहरी, अभियोजक र सञ्चार माध्यमले आफूमाथि अनावश्यक दबाब दिएको बताए । रासस–एपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७