वाम गठबन्धनले राष्ट्रिय सभाको उम्मेदवार टुंग्याउन कार्यदललाई जिम्मा


२६ पुष २०७४, बुधबार
KP Oli Prachanda UML Bam Gathabandhan

काठमाडौं: वाम गठबन्धनले प्रदेश सभा र स्थानीय तहको दुवै तर्फ प्राप्त गरेको मत सङ्ख्यालाई आधार बनाएर राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंग्याउने भएको छ । उम्मेदवार छनौट गर्ने जिम्मा कार्य दललार्इ दिएको छ ।

KP Oli Prachanda UML Bam Gathabandhan
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित बुधवार बिहान एमाले अध्यक्ष केपी ओली निवासमा भएको छलफलमा दुवै अध्यक्षले प्रदेश र स्थानीय तहमा प्राप्त गरेको मत सङ्ख्या, व्यक्तित्वको योगदान र दुवै पक्षको शक्ति सन्तुलनलाई आधारमा राखेर नाम सिफारिस गर्न कार्यदलका सदस्यलाई सुझाव दिएका हुन् । पार्टी एकतालाई बल पुग्ने र प्रभावकारी रूपमा सरकारको नेतृत्व गर्न सक्ने गरी उम्मेदवारी सिफारिस गर्न कार्यदललाई निर्देशन भएको एमाले बाट कार्यदलमा सदस्य रहनुभएका नेता शंकर पोख्रेलले जानकारी दिए ।

कार्यदलको कार्यादेश बारे दुवै पार्टीका अध्यक्षसँग छलफल भएको र नेतृत्वबाट आफुहरुलाई काम गर्ने आधार र त्यसबारेको आवश्यक निर्देशन प्राप्त भएको माओवादी केन्द्रबाट कार्यदलमा सदस्य रहेका नेता बर्षमान पुनले जानकारी दिए । राष्ट्रियसभा, प्रदेशका मुख्य मन्त्री, सभामुख लगायत पदाधिकारीको व्यवस्थापनका विषयमा कार्यदलभित्र प्रारम्भिक छलफल भएको र भोलिदेखि सघन रूपले छलफल अघि बढाइने उनले बताए । नेता पुनले पार्टी एक हुने ढंगले अघि बढीरहेका बेला मुख्य गरी व्यक्तित्व, अनुभव र सन्तुलनको पक्षलाई प्रमुख आधार बनाई राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिने बताए ।

एकता संयोजन समितिले मङ्गलवार ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा एमालेबाट ईश्वर पोख्रेल, सुवास नेम्वाङ्ग, शंकर पोख्रेल र माओवादी केन्द्रबाट बर्षमान पुन, मात्रिका पौडेल र रामबहादुर थापा बादल सदस्य छन् । ओली निवासमा भएको छलफलमा मात्रिका यादव बाहेक सबै सदस्य सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७