पूर्वराजा ज्ञानेन्द्रका आगामी प्लान


प्रकाशित मिति : January 10, 2018

काठमाडौं : निर्वाचनताका चुप लागेका पूर्वराजा सक्रिय हुन थालेका छन् । मध्य र सुदूरपश्चिम हँुदै यतिबेला लखनउ पुगेका हुन् । उनको साथमा पूर्वरानी कोमल, छोरी प्रेरणा, बहिनी शोभा र उनका पती मोहनबहादुर शाही छन् ।

काठमाडौंमा रहेका संवादसचिव डा. फणिराज पाठकलाई समेत हतारमा नेपालगन्ज बोलाएका उनका साथमा निजी सचिव सागर तिमल्सिना पनि छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको योजनामा पूर्वराजा लखनउ पुगेका हुन् । पटकपटक नेपाल आउने गरेका आदित्यनाथ नेपालमा राजाको शासन र हिन्दू राज्यको पक्षमा खुलेरै लागेका छन् । लखनउ भ्रमणको सम्पूर्ण व्यवस्था उत्तर प्रदेशको सरकारले गरेको स्रोतको भनाइ छ ।

आफ्नो बुबाको सक्रियता बढिरहँदा छोरा पारस भने निर्मल निवासमै छोरा हृदयेन्द्र र कान्छी छोरी कीर्तिकासँग छन् । अंग्रेजी नयाँ वर्षमा नेपालगञ्जको सोल्टी होटल उद्घाटन गर्न छोरालाई बोलाए पनि उनी गएनन् । छोरा मात्र नभई धीरेन्द्रपुत्री हरूलाई बोलाउँदासमेत उनीहरू नेपालगन्ज उपस्थित भएनन् । सपरिवार मध्य र सुदूरपश्चिमको भ्रमण गर्ने बाबुको चाहनालाई पारसले तुषारापात गरिदिएका हुन् ।

गत साता सम्पन्न जन्मदिनमा पारसले छोरा र छोरीलाई सँगै राखेका थिए । हिमानी भने नेपालगञ्जमा थिइन् । लामो समयदेखि पारस र हिमानी छुट्टाछुट्टै बस्दै आएका छन् । हिमानी नेपालगञ्ज पुग्दा पारस निर्मल निवासमा बसेका थिए । गत शुक्रबार बिदा मनाउन नेपाल आएकी जेठी छोरी पूर्णिकालाई पु¥याउन थाइल्यान्ड पुगेकी छन् । विदेश भ्रमणमा निस्कँदा सधैँ ससुरालाई साथ दिने हिमानी लखनउ भ्रमणमा छुटेकी छन् ।

दरबारमा रहँदा चुप लागेर बस्ने ज्ञानेन्द्र जिल्ला भ्रमणमा निस्कँदा भने उक्सिने गरेका पाइन्छन् । नेपालगञ्ज रहँदा केही राजावादीसँग भेट गर्न सफल भएका ज्ञानेन्द्रको मध्य र सुदूर पश्चिमको पछिल्लो भ्रमण ठाकुरद्वारा र सुर्खेत हुने भएको छ । दुई स्थानको भ्रमण सकेर काठमाडौ फर्किने तयारीमा रहेका ज्ञानेन्द्र २८ गते पुनः नेपालगञ्ज फर्कंदै छन् ।

-जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्