पोखरीमा डुबेर १३ बाँदरको मृत्यु


२१ फाल्गुन २०७६, बुधबार
Nepali Monkey

गोरखा, २१ फागुन । गोरखा नगरपालिका–९ लक्ष्मी बजारस्थित शिखरडाँडामा निर्माणाधीन आपतकालीन पानी पोखरीमा डुबेर १३ वटा बाँदरको मृत्यु भएको छ ।

आपतकालीन अवस्थाका लागि भन्दै वडाभित्र निर्माण भइरहेको पोखरीमा डुबेर आज बाँदरको मुत्यु भएको वडाध्यक्ष कुलबहादुर कुँवरले जानकारी दिए । गोरखा नगरपालिकाको दमकलमा पानी भर्नका लागि भन्दै ‘एक वडा, एक आपतकालीन पानी पोखरी’ निर्माणको अवधारणाअन्तर्गत शिखरडाँडामा पानी पोखरी निर्माणको काम भइरहेको छ ।

वडाध्यक्ष कुँवरले भने, ‘निर्माण सम्पन्न हुन बाँकी नै रहेको पोखरीमा केही दिनअघि परेको वर्षाका कारण करिब एक मिटर पानी जमेको रहेछ, त्यही जमेको पोखरीमा पानी खान जाँदा बाँदर डुबेर मरेका छन् ।’ पक्की पोखरी गहिरो भएका कारण डुबेरका बाँदरलाई बचाउन जाँदा अरु बाँदरको पनि ज्यान गएको अनुमान गरिएको छ ।

निर्माणाधीन पोखरीको भित्री भाग चिप्लो भएका कारण पनि पोखरीमा पसेको बादँर बाहिर आउन नसकेर ज्यान गएको अनुमान गरिएको छ । करिब रु तीन लाखको लागतमा निर्माणधीन पोखरीको वरपर तारजाली लगाउने काम बाँकी रहेको बेला बाँदर पोखरीमा डुबेर मरेको हो ।

‘पोखरीमा त्यति धेरै पानी त जम्मा भएको थिएन तर बाँदरलाई मात्र डुबाउने पानी रहेछ’, वडाध्यक्ष कुँवरले भने । डुबेर मरेका सबै बाँदरलाई खाल्डो खनेर व्यवस्थापन गरिएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७