दैनिक तीन करोडको पानी किनेर खान्छन् उपत्यकाबासी, ७५० कम्पनीले भूमिगत पानी निकाल्दै

पानीको स्रोत संरक्षणमा जुट्यो कामपा


२१ फाल्गुन २०७६, बुधबार
dhunge dhara 3

काठमाडौं, २१ फागुन । पछिल्लो समय काठमाडौं महानगरपालिकाले पानीको स्रोतको संरक्षण कार्यका लागि चासो देखाएको छ ।

उपत्यकामा बसोबास गर्ने जनसंख्या बढिरहँदा खानेपानीको माग बढिरहेको छ । पहिले उपत्यकामा भएका ढुङ्गेधारा, पोखरी र राजकुलो पानीको स्रोतका रूपमा रहेका थिए । बढ्दो जनसंख्यासँगै अहिले हरेक दिन जस्तै जमनिमुनिको पानीको अत्यधिक प्रयोग भइरहेको छ ।

यसरी पानीको मुहान खोजी मात्रै गर्ने र यसको संरक्षण नगर्ने हो भने एक दिन काठमाडौं उपत्यकामा पानीको हाहाकार पर्ने विषय कुनै नौलो होइन । यी विषयलाई मध्यनजर गर्दै यही फागुन ६ गतेबाट कामपाले पानी पुनः भरण प्रणाली शुभारम्भ गरिसकेको छ । यस प्रणालीमा निश्चित स्थान (क्याचमेन्ट) मा जम्मा भएको पानी जमीनमुनि पठाउने व्यवस्था मिलाइएको छ । यसमा आकाशेपानी सङ्कलन विधि जडान गरिएको छ र उक्त पानीलाई जमीनमुनि पठाउने प्रबन्ध गरिन्छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले यस प्रणाली पहिलो पटक शुरु गरिएको भन्दै महानगरले अघि बढाएको यो कार्यक्रमबाट प्राकृतिक सन्तुलन कायम गराउन, वातावरणीय सुधारमा उपलब्धि हेरी कामपाको ३२ वटै वडामा अनिवार्यरूपमा यस किसिमको व्यवस्था गर्ने तयारी गरिएको बताउँछन् ।

हिउँदमा पानीको चर्को समस्या खेप्ने काठमाडौंले बर्खायाममा भने डुबानको जोखिम व्यहोरिरहेको छ । काठमाडौं डुबानमा पर्नुको मुख्य कारण भनेकै पानी पुनःभरणको व्यवस्था बिग्रिँदै जानु हो । काठमाडौं महानगरको करीब ८३ प्रतिशत जमीन घर वा कुनै न कुनै प्रकारको संरचनाले ढाकेको अनुमान छ । यो ठाउँबाट पानी जमीनमुनि जान सक्दैन । यही कारण पानी अभावको समस्या र डुबानको समस्या भएको शहरी योजनाकारहरुले बताउँदै आएका छन् ।

निजी क्षेत्रले सञ्चालन गरेका खानेपानीसम्बन्धी उद्योगहरुले ठूला मेसिन तथा गहिरो ट्युबवेल प्रयोग गरेर पानीको दोहन गरिरहेका छन् । आधिकारिक तथ्याङ्क नभए पनि उपत्यकामा करीब ७५० भन्दा बढी कम्पनीले भूमिगत पानी निकालिरहेको अनुमान छ । तीमध्ये अनुमति प्राप्त करीब २०० डिपबोरिङ छन् । यिनै व्यवसायीबाट उपत्यकावासीले दैनिक करीब रु तीन करोडको पानी किनेर उपयोग गरिरहेका छन् ।

त्यसो त सरकारले लामो समयदेखि नै मेलम्चीको पानी ल्याउने तयारी अघि बढाइरहेको छ । अन्यत्रबाट पानी ल्याउने मात्रैभन्दा भएका स्रोेतको संरक्षण र उपत्यकाभित्रै खानेपानीको नयाँनयाँ स्रोतको पहिचान गरी त्यसको सही प्रयोग र जमीनमा पानीको पुनःभरणलाई ध्यान दिन आवश्यक रहेको कामपा शहरी योजना आयोगका सदस्यसचिव सरोज बस्नेतको भनाइ छ ।

उपत्यकाभित्रको मुहानको दिगो संरक्षणकै लागि भनी आगामी दिनमा गुरुयोजना नै बनाएर अघि बढ्न आवश्यक भइसकेको छ । अन्यत्रबाट ल्याउने पानीको सही उपयोग भइरहेका मुहानको संरक्षणसँगै नयाँ मुहानको खोजी र तिनको उपयोगमा समेत विषेश ध्यान आवश्यक रहेको कामपाको ठम्याइ छ । खानेपानीलाई संविधानले साझा अधिकारका रूपमा व्यवस्था पनि गरेको छ । पानीको स्रोत भएका स्थानीय तहले त्यसको संरक्षणमा लाग्नु सबैभन्दा राम्रो हुन्छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यका ल्याएर त्यसको व्यवस्थितरूपमा वितरण गर्ने जिम्मेवारीसँगै भएका स्रोतको व्यवस्थापन कार्य पनि अघि बढाएको हो । मेलम्चीको पानी काठमाडौँ आइसकेपछि कुन–कुन ठाउँमा कति–कति परिमाणमा वितरण गर्ने भनी आवश्यक तयारीको काम अघि बढाउन थालिएको छ । खानेपानी आएपछि कसरी व्यवस्थितरूपमा वितरण गर्ने भनी तयारीका लागि समिति बनाइएको छ ।

समितिले अहिले कुन ठाउँका कति पानी आवश्यक छ र कसरी वितरण गर्न सकिन्छ भनी अध्ययन गरिरहेको छ । लिमिटेडले उपत्यकाभित्रको स्रोत संरक्षणमा समेत ध्यान दिन थालेको हो । उपत्यकाभित्रको पानीको परिमाण बढाउन अहिले १२ स्थानमा ट्युबवेल खन्न शुरु गरिएको लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७