देउवाकी सासु यतै ‘सन्तुष्ट’


२१ फाल्गुन २०७६, बुधबार
prativa rana

काठमाडौं, २१ फागुन । जताततै कोरोनाको कहर छ । यस्तो बिपत्तिमा कूटनीतिक नियोग भूमिका शून्य हुँदा त्यसले मुलुकप्रति नागरिकको विश्वास, सम्मान गुम्ने वातावरण बनिरहेको छ । तर, चिन्ता आफ्नो मात्रै छ ।

कांग्रेस सभापति देउवाकी सासू तथा राप्रपा नेतृ प्रतिभा राणाले अहिलेको बिपत्तिमा त्यस्तो भूमिका प्रदर्शन गरिरहेकी हुन् । उनी राजदूत रहेको जापानमा कोरोनाको संक्रमण बढ्दो छ । ९० हजार नेपालीको बसोबास भएको त्यहाँ उद्धार, सुरक्षा र परिस्थितिको सुनुवाई गर्नुपर्ने राजदूत भने एक महिनादेखि स्वदेशमै अलमल गरिरहेकी छन् ।

काठमाडौंमै रहेर पनि जापानमा फैलिएको कोरोनाबाट प्रभावित हुने नेपालीबारे केही बुझिरहेकी छैनन्, उद्धारका लागि कुनै पहल लिइरहेकी पनि छैनन् । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलको कार्यसम्पादनमा खोट देखाउँदै गतसाता मन्त्रिपरिषद्ले फिर्ता बोलाउने निर्णय लिएको छ ।

भनिएको छैन–उनले कुन कार्यको सम्पादनमा कैफियत निकाले ? कोरोनाको प्रकोपले सिंगो चीन आक्रान्त भइरहँदा लीलामणि आफ्नो ज्यान, जिन्दगी भनेर काठमाडौं नआई बेइजिङमै थिए । तर, कोरोना छिर्ने भयो भन्नासाथ काठमाडौंतिर हान्निने प्रतिभाको कार्यसम्पादनमा सरकारले ‘खोट’ नदेख्नु अचम्मलाग्दो छ ।

त्यस्तै, श्रीलंका, कोरिया र दक्षिण अफ्रिकामा लामो समयदेखि राजदूत खाली छ । यी दुबै देशमा चीनका ठुल्ठूला परियोजना सञ्चालित छन् । र, थुप्रै कामदार, इञ्जिनियर, ठेकेदारसहितका नागरिक त्यता आवत–जावत गरिरहन्छन् । यसमध्ये अफ्रिकामा कोरोना छिरिसकेको छ । श्रीलंका पनि अत्यधिक जोखिमयुक्त मुलुक हो ।

समस्या परेर केही गरिहाल्नुपर्ने स्थिति त अहिलेसम्म बनेको छैन । तर, परिहाल्यो भने गर्ने के ? सरकारसँग कुनै योजना छैन । त्यसमाथि श्रीलंकामा सोमबार संसद विघटन भई मध्यावधि निर्वाचनको घोषणापछि शुरु भएको संक्रमणकालमा कोरोना केन्द्रित स्वास्थ्य व्यवस्थाको यथेष्ट पहल भएको छैन ।

अर्थात्, कोरोनाबाट त्यहाँका नेपाली प्रभावित नहोलान् भन्न सकिन्न । तर, यही कुराको पनि अध्ययन, स्थलगत निरीक्षण गर्नुपर्ने राजदूतको पद रिक्त रहेको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७