प्रधानमन्त्रीको स्वास्थ्य स्थिर, डा. ज्ञवालीले भने, ‘प्रत्यारोपण जटिल थियो, सफल भयो’


२१ फाल्गुन २०७६, बुधबार
kp oli hospital

काठमाडौं, २१ फागुन । दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जानकारी गराएको छ ।

बुधबार अपरान्ह पत्रकार सम्मेलन गर्दै शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले प्रधानमन्त्रीको प्रत्यारोपण सफल भएको र उनको अवस्था स्थिर रहेको बताए । ‘उहाँका सबै मुख्य सूचाङ्कहरू राम्रो अवस्थामा छन् । उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइनेछ,’ खड्काले भने ।

प्रधानमन्त्रीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी हुन् । उनको अवस्था पनि सामान्य रहेको खड्काले जानकारी दिएका छन् । प्रत्यारोपणमा संलग्न रहेका प्रा. डा. प्रेम ज्ञवालीले प्रधानमन्त्री ओलीको सफतालपूर्ण मिर्गौला प्रत्यारोपण सम्पन्न भएको बताए ।

‘१०ः०५ बजे शुरु गरिएको थियो, २ः४५ मा सकियो’, ज्ञवालीले भने, ‘प्रत्यारोपण जटिल थियो तर, सफल भयो ।’ ‘मिर्गौला प्रत्यारोपण गरेको १५ मिनेटमा पिसाब लाग्नुपर्ने थियो, उहाँलाई लाग्यो’, प्राडा ज्ञवालीले भने, ‘जटिल खालको थियो तर सफल भयो ।’

उनले प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न थालेको बताएका छन् । प्रत्यारोपाण सम्पन्न भए पनि अहिलेसम्म प्रधानमन्त्रीलाई होशमा भने नल्याइएको उनले जानकारी दिएका छन् ।
प्रत्यारोपणका लागि पाँच घण्टा समय लाग्ने डाक्टरहरुले बताएका थिए । सोही समयको आसपासमा नै प्रत्यारोपण सम्पन्न भएको हो ।

१२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको अहिले दोस्रोपटक प्रत्यारोपण गरिएको हो ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा. डा. उत्तम शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमार सहभागी हुने शिक्षण अस्पताल स्रोतले जानकारी दिएको छ ।

mm

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७