बजारमा कोरोना त्रास : राजधानीका बासिन्दालाई एक महिना पुग्ने खाद्य सामग्री मौज्दात


२२ फाल्गुन २०७६, बिहीबार
pasal
फाइल फोटो

काठमाडौं, २२ फागुन । राजधानीका बासिन्दालाई एक महिनाका लागि पुग्ने खाद्य सामग्री मौज्दात रहेको समाचार छ ।

कोरोनाको जोखिम रहे पनि तत्काल खाद्यान्न आपूर्तिमा समस्या नहुने सरोकारवालाको बताउँछन्। थोक खाद्य किराना संघका अध्यक्ष देवेन्द्र भट्टले भने, ‘उपत्यकावासीलाई एक महिनासम्म पुग्ने गरी चामल, दाल र खाने तेलको मौज्दात छ ।’

कोभिड–१९ बाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिएर दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुन नदिन सरकारले भने पूर्वतयारी थालेको छैन । सर्वोच्च अदालतले सोमबार दैनिक उपभोग्य वस्तुको व्यवस्थापनतर्फ पूर्वतयारी गर्न सरकारलाई आदेश दिएको थियो ।

अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा चामल, दाल, खाने तेल, तरकारी, इन्धनलगायत पर्छन् ।
विभागीय मन्त्री लेखराज भट्ट उपत्यकाबाहिर र सचिव बैकुण्ठ अर्याल नेपाल–बंगलादेश व्यापार प्रबन्ध र कनेक्टिभिटीसम्बन्धी पाँचांै सचिवस्तरीय बैठकमा सहभागी हुन बंगलादेशमा छन् ।

‘मन्त्री र सचिवज्यू बाहिर भएकाले तत्कालै पूर्वतयारी सुरु भएको छैन’, मन्त्रालयका एक अधिकारीले भने, ‘उहाँहरू आएपछि सरोकारवाला निकायसँग छलफल गरी आवश्यक रणनीति बनाउँछौं ।’

मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन कुरेको छ । निजी क्षेत्रले पनि आन्तरिक रूपमा पूर्वतयारीका कुनै कार्य गरेको छैन । थोक खाद्य किराना संघका अध्यक्ष देवेन्द्र भट्ट भने कोरोनाको जोखिम रहे पनि तत्काल खाद्यान्न आपूर्तिमा कुनै समस्या नरहेको दाबी गर्छन् ।

‘जोखिमका विषयमा हामी पनि जानकार छौं’, भट्टले भने, ‘बिहीबारदेखि हामी पूर्वतयारीबारे छलफल सुरु गर्दै छौं । अहिल्यै आत्तिनु पर्ने अवस्था छैन । हामीसँग एक महिनालाई पुग्ने प्रमुख खाद्य पदार्थ मौज्दात छन् ।’

काठमाडौं उपत्यकामा दैनिक चामल ८० ट्रक, दाल १२ ट्रक र खाने तेल २० ट्रकको माग छ । ती वस्तु भारतीय नाकामार्फत आयात भइरहेको छ । भारतीय नाका अहिलेकै अवस्थामा सञ्चालन भइरहे उपत्यकावासीलाई खाद्यान्न अभाव नहुने संघले जनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७