त्रासको मौका छोपेर मास्कमा कालोबजारी, सरकारले थाल्यो कारबाही


२३ फाल्गुन २०७६, शुक्रबार
DSC 2460

काठमाडौं, २३ फागुन । मास्कको कालोबजारी गर्ने औषधि व्यवसायीमाथि सरकारले कारबाही थालेको छ । मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने व्यवसायीसँग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लाखौं रुपैयाँ जरिवाना असुल्न थालेको हो ।

व्यवसायीले पाँच रुपैयाँ पर्ने मास्कलाई ६० रुपैयाँसम्ममा बेच्दै आएका छन् । कतिपय उपभोक्ताले यो मूल्यमा पनि मास्क किन्न पाएका छैनन् । व्यवसायीका अनुसार कोरोना भाइरसको त्रासका कारण मास्कको प्रयोग दर सयौं गुणा बढेको छ ।

विभागको टोलीले बिहीबार महाबौद्ध र क्षेत्रपाटीमा सातवटा पसलमा गरेको अनुगमनमा चारवटा पसलबाट चार लाख ३० हजार रुपैयाँ जारिबाना गराएको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले व्यवसायीको चलखेलका कारण मास्क र ह्यान्ड सेनेटाइजरको कालोबजारी बढेको बताए ।

विभागको टोलीले महाबौद्धस्थित आयुष फार्मेसीसँग दुई लाख, क्षेत्रपाटीस्थित आइज्याक हस्पिटेक सपोर्टसँग दुई लाख, एसजे मेडिको सर्जिकलसँग २० हजार र आरएफ फार्मेसीसँग १० हजार रुपैयाँ जरिवाना असुलेको छ ।

क्षेत्रपाटीको दीप सर्जिकल सप्लायर्सले मास्क राखेर पनि नभएको भन्दै छलेको थियो । पसलको गोदाममा नियमन गर्दा ४३ थान प्याकेट मास्क फेला परेको थियो । विभाग टोलीले प्रतिगोटा दुई रुपैयाँमा उक्त मास्क बिक्री गर्न लगाएको थियो ।

‘अहिले बजारमा आपूर्ति निकै कम भएको छ,’ सुवेदीले भने, ‘स्वदेशी उत्पादनकर्ता कम्पनीसँग कच्चा पदार्थ नभएर उत्पादन भएको छैन । चीन र भारतबाट आउन बन्द भएपछि स्वदेशी बजारमा भण्डारण गरी राखिएका मास्क र ह्यान्ड सेनेटाइजरको कालोबजारी भएको हो ।’ कालोबजारी गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको जानकारी दिँदै सुवेदीले नियमनमा धेरै टोली खटाउँदा बजार झनै आतंकित हुने बताए ।

गुनासो संकलन गर्न विभागले हट लाइन नम्बर ११३७ को व्यवस्था गरेको छ। मास्कको कालोबजारी भएको, व्यवसायीले कृत्रिम अभाव गरी अत्यधिक मूल्य असुल गरेको र व्यवसायीले बिक्री नगरेकोजस्ता विषयमा एक घण्टामै दुई सयवटा गुनासो उपभोक्ताबाट प्राप्त भएको छ ।

उपभोक्तावादी प्रेमलाल महर्जनले मास्क र ह्यान्ड सेनेटाइजरको अभाव र कालोबजारी भइरहँदा विभागबाट खटिएको दुई टोलीले बजार नियन्त्रणमा लिन कठिन भएको बताए । ‘अराजक बजारलाई नियन्त्रणमा ल्याउन दैनिक कम्तीमा १० वटा टोली परिचालन गर्नुपर्छ,’ उनले भने ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार चीन र भारतबाट आउन बन्द भएपछि नेपाली बजारमा मास्कको चर्को अभाव भएको हो । नेपालमा चिकित्सा क्षेत्र र धुलोधुवाँबाट जोगिन मास्क प्रयोग हुँदै आएको छ । यस्तो प्रयोजनमा मासिक २५ हजार थान मास्क खपत हुन्छ ।

एक स्वदेशी उद्योगबाट दैनिक करिब पाँच हजार मास्क उत्पादन हुन्छ । कच्चा पदार्थ उपलब्ध नहुँदा मागअनुसार उत्पादन हुन नसकेको श्रेष्ठले बताए । ‘कोरोना भाइरसको हल्ला चलेसँगै सर्वसाधारणले आवश्यकताभन्दा बढी खरिद गरेको र स्टकमा भएकाले कालोबजारी गरेका कारण अभाव सिर्जना भएको हो,’ श्रेष्ठले भने ।

नेपाल औषधि व्यवसायी संघले मास्क र ह्यान्ड सेनेटराइज ताइवान र बैंककबाट आयात गर्ने व्यवस्था मिलाइदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले आगामी चार महिनाका लागि आवश्यक पर्ने औषधि मौज्दात रहेको बताए ।

‘तर हल्लाका भरमा आवश्यकताभन्दा बढी औषधि खरिद गरी जम्माखोरी गरेको अवस्थामा केही प्रभाव पार्न सक्छ,’ आचार्यले भने, ‘औषधि निर्माण गर्न आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्न जोड दिनुपर्छ ।’ अन्नपूर्ण दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७