मिर्गौला दान गर्नेमा महिला बढी दयालु


२३ फाल्गुन २०७६, शुक्रबार
samichha sangraula

काठमाडौं, २३ फागुन । नेपालमा मिर्गौला दान गर्नेमा पुरुषभन्दा महिला अगाडि छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवैपटक मिर्गौला दान गर्ने पनि महिला हुन् ।

ओलीलाई पहिलोपटक भाइबुहारी पर्ने अन्जन घिमिरे ओलीले मिर्गौला दिएकी थिइन् । प्रधानमन्त्री ओलीलाई दोस्रोपटक मिर्गौला दान गर्ने पनि समीक्षा संगौला ज्ञवाली हुन् ।

त्रिवि शिक्षण अस्पतालको तथ्यांक अनुसार मिर्गौला दिनेमा महिला बढी छन् भने लिनेमा पुरुष बढी । यो अस्पतालमा प्रधानमन्त्री ओलीसहित ६ सय १४ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ । जसमध्ये ६५ प्रतिशत पुरुष छन् । मिर्गौला दान गर्नेमा ७० प्रतिशत महिला रहेको अस्पतालको तथ्यांकले देखाउँंछ ।

मिर्गौ प्रत्यारोपण हुने वीर अस्पताल र धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पनि मिर्गौला दाता महिला नै बढी भएको पाइएको छ ।

अन्तर्राष्ट्रिय एक जर्नलका अनुसार भारत, पाकिस्तान तथा दक्षिण एसियाली राष्ट्रमा समेत महिला मिर्गौला दाता नै बढी छन् । ती राष्ट्रमा पनि ७० प्रतिशत मिर्गौला दाता महिला छन् ।

चिकित्सकका अनुसार दक्षिण एसियाली देशको तुलनामा विकसित तथा पश्चिमा राष्ट्रमा भने महिला मिर्गौला दाताको संख्या कम छ । नेपाल तथा दक्षिण एसियामा महिला मिर्गौला दाता बढी हुनुको पछि सामाजिक मनोविज्ञान तथा पितृसत्तात्मक समाज कारक रहेको त्रिवि शिक्षण अस्पतालका नेफोलोजी विभाग प्रमुख तथा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंह शाह बताउँछिन् ।

‘पुरुषलाई घरको खम्बाको रुपमा नेपाली समाजले लिएको छ, ऊबिना परिवार नचल्ने मनोविज्ञान महिला र सिंगो समाजमा देखिन्छ,’ उनले भनिन् । शाहको विचारमा पुरुषको तुलनामा महिलाको मिर्गौला स्वस्थ हुनाले पनि यस्तो भएको हुन सक्छ ।

त्रिवि शिक्षण अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. महेशकुमार सिग्देलको विचारमा पनि नेपाली समाजको सामाजिक तथा आर्थिक पक्षका कारणले मिर्गौला दान गर्ने महिला बढी भएका हुन् । साथै महिलामा हुने दयालुपनले पनि उनीहरू अरुलाई मिर्गौला दिन उत्पे्ररित भएको देखिएको सिग्देल बताउँछन् ।

‘पुरुषभन्दा महिला बढी दयालु हुन्छन्, यो पनि एउटा कारण हो’, उनले भने ।
प्रधानमन्त्री ओलीलाई पहिलोपटक मिर्गौला दिएकी अन्जन अहिले पनि तीन दिनदेखि त्रिवि शिक्षण अस्पतालमा बसेकी छिन् । उनी प्रधानमन्त्री ओलीलाई दोस्रोपटक मिर्गौला दिने समीक्षाकी माइजू नाता पर्छिन् ।

प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदा आफू निकै खुसी भएको अन्जनले बताइन् । ‘म आफैंले मिर्गौला दिँदाको क्षणमा जस्तो खुसी अहिले पनि छु । समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्न उहाँ स्वस्थ हुनुपर्छ’, उनले भनिन् ।

प्रधानमन्त्री ओलीलाई दोस्रोपटक मिर्गौला दिने समीक्षा ३१ वर्षकी छन्। उनी नातामा ओलीकी भान्जी पर्छिन् । प्रधानमन्त्री ओली र समीक्षाको रगत समूह ‘ओ नेगेटिभ’ हो । प्रधानमन्त्री ओली बिरामी भएपछि समीक्षाले नै उनलाई मिर्गौला दिने प्रस्ताव राखेकी थिइन् । यो गत वर्षको कुरा हो ।

‘प्रधानमन्त्रीको मिर्गौैलाले काम गर्दैन् भन्ने सुन्नेबित्तिकै समीक्षाले आफैं दिन्छु भनेकी थिइन् । यसबारे उनले मलाई पनि सोधिन् । मैले पनि सहमति दिएँ,’ बिहीबार अस्पतालमा भेटिएका समीक्षाका पति कमल ज्ञवालीले भने । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७