के कोरोनाविरुद्धको खोप बनाउने काम के हुँदैछ ? खोप पत्ता नलागे के होला ?


प्रकाशित मिति : March 6, 2020

काठमाडौं, २३ फागुन । चीनको ऊहानबाट फैलन सुरु भएको कोरोना भाइरस (कोभिड –१९) अब संसारको ७६ देशमा फैलिसकेको छ । नेपालमा यसको संक्रमित अहिलेसम्म नदेखिएको भनिए पनि छिमेकी राष्ट्र भारतमा २९ जनामा यो संक्रमणको पुष्टि भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको पहिलो संक्रमणको पुष्टि डिसेम्बर ३१ सन् २०१९ मा भएको थियो । तीब्र रुपमा भाइरस फैलिएपछि ३० जनवरी २०२० मा यसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषित गरिएको थियो ।

तर सुरुवाती समयमा यो भाइरसबारे खासै जानकारी थिएन त्यसैकारण यसको उपचार पनि राम्रोसँग हुन सकेन । अहिलेसम्म यो भाइरसबाट बच्नका लागि कुनै खोप पनि बन्न सकेको छैन ।
यो भाइरसबारे र यसको संक्रमणको तरिकाबारे जानकारी त उपलब्ध छन् तर अहिलेसम्म यसको कुनै उपचार भेट्न सकिएको छैन ।

विश्व स्वास्थ्य संगठनसमेत विभिन्न देशका डाक्टर यो रोगसँग लड्नका लागि खोपको खोजीकार्यमा जुटेका छन् तर के यसको खोप चाँडै बन्न सक्ला ?
कहिलेसम्म बन्ला कोरोनाविरुद्धको खोप ?
यो भाइरसमाथि अनुसन्धान गरिरहेका डाक्टरले यसको खोप बनाइसकेको र जनावरमा यसको परीक्षण सुरु गरिसकिएको दाबी गरेका छन् । यदि सबै कुरा सही रहे यसै वर्ष मानिसमा पनि यसको परीक्षण सुरु गरिने सम्भावना छ ।

कोरोना भाइरसका लागि खोप बनाएको भन्दै वैज्ञानिकहरु खुसी भए पनि ठूलो परिमाणमा यसको उत्पादन सुरु हुन अहिले समय लाग्नेछ । यसको अर्थ यो हो कि अर्को वर्ष अघि यो खोप बजारमा उपलब्ध हुने नहुने अहिले नै निश्चित छैन ।

कोरोना भाइरस (कोभिड –१९) का लागि निकै तीब्र गतीमा काम चलिरहेको छ र खोप बनाउनका लागि विभिन्न बाटो अपनाइँदैछ । यस्तोमा यसको खोपको विषयमा अहिले नै कुनै ग्यारेन्टी छैन ।

अहिलेसम्म चार प्रकारका कोरोना भाइरस पाइएका छन् जसले मानिसहरुलाई संक्रमित बनाइरहेका छन् । यी भाइरसका कारण रुघा–खोकी लाग्ने बेला देखिने लक्षण देखिन्छ र यसका लागि अहिलेसम्म कुनै खोप छैन ।
के सबै उमेर समूहका मानिसहरु बच्न सक्लान् ?
यदि कोरोना भाइरसको खोप बन्यो भने पाका उमेरका मानिसहरुमा यसको असर कम हुन सक्ने अनुमान गरिएको छ । तर यसको कारण खोप नभई मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता हो किनभने उमेर बढी हुँदा व्यक्तिको रोग प्रतिरोधी क्षमता पनि कम हुने गर्छ । हरेक वर्ष फ्लूको संकमणका साथै यस्तो समस्या देख्ने गरिन्छ ।

सबै औषधीका साइड इफेक्ट हुन्छन् । बिरामी हुँदा साधारण रुपमा प्रयोग गरिने प्यारासिटामोल जस्तो औषधीको पनि साइड इफेक्ट हुन्छ । तर जबसम्म कुनै खोपको क्लिनिकल परीक्षण हुँदैन, यसले कस्तो असर पार्छ भन्ने कुरा थाहा पाउन मुश्किल छ ।
खोप पत्ता नलागेसम्म के गर्न सकिन्छ ?
यो कुरा साँचो हो कि खोपले व्यक्तिलाई रोगबाट बचाउँछ तर कोरोना भाइरसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको राम्रो तरिकाले सर–सफाई गर्नु हो ।

यदि तपाईंलाई कोरोना भाइरस संक्रमण भइहाले पनि यो साधारण संक्रमण जस्तो हुन्छ । क्लिनकल ट्रायलमा विभिन्न प्रकारका एन्टी–भाइरस प्रयोग गरिँदै छन् तर यो सबै कोरोनामा पनि प्रभावकारी हुनेछ भनेर निश्चित गर्नु मुश्किल छ ।
खोप कसरी बन्छ ?
मानिसको शरीरमा रगतमा ह्वाईट ब्लड सेल हुन्छ जुन उसको रोग प्रतिरोधी तन्त्रको हिस्सा हुन्छ ।

शरीरलाई क्षती नर्पुयाई खोपमार्फत् शरीरमा अत्यधिक कम मात्रामा भाइरस वा ब्याक्टेरिया हालिन्छ । जब शरीरको रक्षा तन्त्रले यो भाइरस वा ब्याक्टेरियालाई पहिचान गर्छ तब शरीर यसविरुद्ध लड्न सिक्छ ।

त्यसपछि यदि मानिसले साँच्चै नै उक्त भाइरस वा ब्याक्टेरियाको सामना गर्छ तब उसलाई संक्रमणबाट कसरी बच्ने जानकारी हुन्छ । दशकौंदेखि भाइरससँग लड्नका लागि जुन खोप बने त्यसमा सक्कली भाइरसको नै प्रयोग हुँदै आएको छ ।

मिजल्स (दादुरा), मम्प्स र रुबेला (एमएमआर) को खोप बनाउनका लागि यस्ता कमजोर भाइरसको प्रयोग गरिन्छ जसले संक्रमण गर्न सक्दैनन् । साथै फ्लूको खोपमा पनि यसको भाइरस नै प्रयोग हुन्छ ।

तर कोरोना भाइरसमा अहिले जुन नयाँ खोप बनाइँदैछ त्यसका लागि नयाँ तरिकाको प्रयोग भइरहेको छ र जसको अहिले कम नै परीक्षण हुन सकेको छ । नयाँ कोरोना भाइरस क्बचक(ऋयख्(द्द को जेनेटिक कोड अब वैज्ञानिकलाई थाहा भइसकेको छ र अब हामीसँग खोप बनाउनका लागि एउटा पूरा ब्लूप्रिन्ट तयार छ ।

खोप बनाउने केही डाक्टर कोरोना भाइरसको जेनेटिक कोडबाट केही हिस्सा लिएर त्यसको नयाँ खोप तयार गर्ने कोसिसमा छन् । कति डाक्टर यो भाइरसको मूल जेनेटिक कोडको प्रयोग गरिरहेका छन् जुन एक पटक शरीरमा प्रवेश भएपछि भाइरल प्रोटिन बनाउँछ र शरीरले यो भाइरसबाट लड्न सिक्नेछ ।
जेम्स गेलहर, स्वास्थ्य तथा विज्ञान संवाददाता, बीबीसी

प्रतिक्रिया दिनुहोस्