यस्तो छ, राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका


२६ पुष २०७४, बुधबार
Upper House election

काठमाडौँ, २६ पुस :  निर्वाचन आयोगले आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका आज सार्वजनिक गरेको छ । माघ २४ गते हुने निर्वाचनको व्यवस्थापनका लागि तयार गरिएको निर्वाचन सम्बन्धी कार्यतालिकालाई वुधबार स्वीकृत गरी आयोगले सार्वजनिक गरेको हो।

Upper House election

आयोगबाट प्रदेशगत रूपमा मतदाता नामावली तयार गरी निर्वाचन अधिकृतको कार्यालयमा पठाउने र दाबी विरोधलगायतका प्रक्रिया सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट सञ्चालन हुने जनाएको छ। यस प्रयोजनका लागि आयोगले माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने र ९ गते अन्तिम नामावली प्रकाशन गरी माघ १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ २४ गते बुधबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान सञ्चालन गर्ने गरी राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका तयार पारेको छ।

स्थानीय तहका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य गरी राष्ट्रियसभा निर्वाचनका लागि दुई हजार ५६ मतदाता रहने छन् । स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखले दिने मतभार १८ रहने तथा प्रदेशसभा सदस्यले दिने मतभार ४८ हुनेछ । उक्त निर्वाचनका लागि उच्च अदालत रहेको जिल्लामा मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । आयोगका अनुसार, धनकुटा, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ ।

उक्त निर्वाचनमा प्रत्येक प्रदेशबाट तीन महिला, एक दलितसहित आठ जना हिसाबले सात प्रदेशबाट ५६ उम्मेदवार राष्ट्रिय सदस्यमा निर्वाचित हुनेछन् । उनानसठ्ठी सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिशमा तीन जना राष्ट्रपतिबाट चयन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन प्रत्येक प्रदेशसभा गठन भएको निर्वाचक मण्डलले दिएको एकल सङ्क्रमणीय मत प्रणालीका आधारमा हुनेछ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा राजनीतिक दलसँग माघको पहिलो साता छलफल र परामर्श गर्ने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७