कोरोना एम्बुस जस्तै नपड्किएसम्म केहि होइन जस्तो : स्वास्थ्यमन्त्री ढकाल


२३ फाल्गुन २०७६, शुक्रबार
Bhanubhakta Dhakal 850

काठमाडौं, २३ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले विश्वव्यापी त्रास फैलाइरहेको कोरोना भाइरसलाई ‘नपड्किएको एम्बुस’ को संज्ञा दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कोरोना भाइरससम्बन्धी दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा आफ्नो धारणा राख्दै मन्त्री ढकालले कोरोना भाइरस हाम्रै घरभित्र र छेउछाउमा हुन सक्ने भन्दै सकर्तता अपनाउन सबैलाई आग्रह गरेका छन् ।

एक डाक्टरको भनाई उदृत गर्दै मन्त्री ढकालले भने, ‘कोरोना भाइरस कस्तो हो भने यो नपड्किएको एम्बुस जस्तो । हाम्रै घरभित्र पनि हुनसक्छ । हाम्रो छेउछाउमा पनि हुन सक्छ । नपड्किँदासम्म केही होइन जस्तो लाग्ने ।’

मन्त्री ढकालले कोरोनाको संक्रमण फैलन नदिन सरकारले पर्याप्त तयारी गरेको दाबी पनि गरेका छन् । विगतमा संकट परेपछि मात्रै सबै जना एक ठाउँमा उभिने परम्परा विपरीत अहिले संकट आइपर्ने सम्भावना अगावै सबै दल एक ठाउँमा आउने वातावरण बनेकोमा आफूलाई खुशी लागेको बताउँदै यसले आसन्न संकटलाई टार्न सहयोग पुग्ने बताए ।

सांसदहरुले कोरोनासम्बन्धी राष्ट्रियस्तरमा अनुगमन तथा निर्देशन दिन संसदीय समिति निर्माण गर्न गरेको आग्रहलाई सकारात्मक रुपमा लिएको पनि मन्त्री ढकालले बताएका छन् । उनले विगतमा भूकम्पपछि सभामुखको अध्यक्षतामा सबै दल सम्मिलित यस्तो समिति बनेको स्मरण गरेका थिए ।

कोरोनासम्बन्धी विशेष प्रस्तावमाथि ३९ जना सांसदहरुले बोलेका थिए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले आज संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका थिए । सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै सांसद थापाले कोरोनाको जोखिम नियन्त्रणका लागि सरकारलाई विभिन्न ११ सुझाव समेत दिएका छन् । प्रतिनिधि सभाको अर्को बैठक यही फागुन २९ गते बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७