संघीय सरकारविरुद्ध प्रदेश २ सरकारले मुद्दा हाल्ने


२३ फाल्गुन २०७६, शुक्रबार
lalbabu raut

जनकपुर, २३ फागुन :  वीरगन्ज चिनी मिलको जग्गा बेच्ने संघीय सरकारको निर्णयविरुद्ध प्रदेश २ को सरकारले संवैधानिक इजलासमा मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चिनी मिलको जग्गा बिक्री रोक्न र सरकारी कार्यालय आफ्नो मातहत ल्याउन संघीय सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा दायर गर्ने निर्णय गरेको हो । मुलुक संघीयतामा गएपछि प्रदेश सरकारले संघीय सरकार विरुद्ध मुद्दा हाल्न लागेको यो पहिलो घटना हो ।

बैठकले सरकारी जग्गा हस्तान्तरण, वीरगन्जको चिनी मिलको जग्गा बिक्रीमा रोक र संघीय सरकार मातहत रहेको कार्यालय प्रदेश मातहत ल्याउन संवैधानिक इजलासमा मुद्दा हाल्ने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए ।

संघीय सरकारको फागुन ५ को मन्त्रिपरिषद् बैठकले वीरगन्ज महानगरपालिका–१४ स्थित चिनी कारखानाको जग्गामध्ये ६ बिघा जग्गा बिक्री गर्ने निर्णय गरेको थियो ।

तत्कालीन सोभियत संघको आर्थिक एवं प्राविधिक सहयोगमा २०२१ माघ १८ देखि सञ्चालनमा आएको कारखाना २०५९ फागुन १६ मा बन्द भएको थियो । कारखानाले सुरुवाती चरणमा वार्षिक करिब ९० हजार क्विन्टल चिनी उत्पादन गरेको थियो ।

२०३४ सालमा आधुनिक मेसिन जडान गरिएपछि एक लाख ३५ हजार क्विन्टलसम्म चिनी उत्पादन भएको थियो । त्यसबेला पर्सा, बारा र रौतहटका करिब ५० प्रतिशत किसान उखु खेतीमा आबद्ध थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७