मूर्तिसँगै टेउवाको पर्यटन ठडिने अपेक्षा


प्रकाशित मिति : March 6, 2020

बागलुङ, २३ फागुन । बागलुङ जिल्लाको गलकोटस्थित नौ हजार ३१३ फिट अग्लो पहाड घुम्टेको काखमा छ टेउवा । गलकोट र घुम्टे सबैले सुनेकै नाम भए पनि टेउवा खासै चिनिएको ठाउँ होइन ।

खेतीपाती पनि बाँदरले खाई दिने नाङ्गो डाँडो गलकोट नगरपालिका–५ हरिचौरस्थित टेउवाको नाम अहिले भने अहिले स्वदेशमा मात्र नभएर अन्तर्राष्ट्रियरुपमा नै चर्चित बनेको छ । हरिचौर टेउवाका स्थानीय पूर्णबहादुर राना र गलकोट घर भई ललितकला क्याम्पसमा प्रध्यापक तथा मूर्तिकार ओम खत्रीको पहलमा अहिले टेउवाको डाँडो घुम्टेको काखमा धमाधम खुला मूर्तिकला सङ्ग्रहालय निर्माण भएको छ ।

१० वर्ष अगाडिदेखि कल्पना गरेको खूला मूर्तिकला सङ्ग्रहालय पूरा गर्नका लागि विसं २०७३ मा पूर्णबहादुर रानाकै नेतृत्वमा गलकोट कलाप्रतिष्ठान गठन भएर निःशुल्क जग्गा प्राप्ति, सडक, विद्युत, शौचालय तथा स्नान कक्ष पनि निर्माण सम्पन्न भइसकेको छ ।

गत महिनासम्म पनि त्यहाँका स्थानीय तथा पर्यटन व्यवसायीले पत्याएका थिनन् त्यो अनकन्टार डाँडामा खुला मूर्तिकला सङ्ग्रहालय बन्छ भनेर । जब गलकोटकै मूर्तिकार ओम खत्रीको संयोजनमा यही फागुन ५ देखि २१ गतेसम्म खुला सङ्ग्रहालयका लागि आवश्यक मूर्ति निर्माण गर्न अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना गरियो अनि त टेउवा एकाएक अन्तर्राष्ट्रियस्तरमै चर्चामा आउन लाथ्यो । यहाँ विभिन्न १० देशका १० जना विदेशी र पाँच नेपाली मूर्तिकार एकै पटक कार्यशालामा सहभागी भएको पहिलो पटक थियो ।

सामान्य कार्यशाला ललितकला क्याम्पस, प्रज्ञाप्रतिष्ठान तथा विराटनगरलगायका स्थानमा भए पनि प्राकृतिक स्थान टेउवामा ख्यातिप्राप्त १५ मूर्तिकार र १० विद्यार्थी मूर्तिकार जमघट भएको पहिलो पटक भएको कार्यशालाका संयोजक तथा मूर्तिकार ओम खत्रीले जानकारी दिए ।

‘जब १७ दिन लगाएर १७ वटा कलात्मक मूर्ति ठडिए, तब गलकोट टेउवाको पर्यटन ठडिएको महशुस भएको छ’, खत्रीले भने, ‘मूर्तिकला कार्यशालाका बारेमा थाहै नभएका कार्यशालाको अवलोकनपछि आश्चर्यमा परेका छन्, मलाई देश विदेशबाट छेउछाउमा होटल तथा रिसोर्ट खोल्नका लागि सहयोग गर्न अपिल पनि आएको छ ।’ खत्रीका अनुसार ढुङ्गामा निर्माण भएका भावना, जीवन, संस्कृति, परम्परा, आधुनिक तथा प्राकृतिक छटा समेटिएका १७ वटा मूर्ति खुला सङ्ग्रहालयमा राखिने छ ।

पर्यटकीय हिसाबले नेपालमा निकै महत्वपूर्ण रहेको पोखरा र नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष जोड्नका लागि खुला मूर्तिकला सङ्ग्रहालय कोशेढुङ्गा हुने आयोजक गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए ।

अत्यन्तै मनोरम दृष्य देखिने टेउवाको डाँडामा निर्माण हुने खुला सङ्ग्रहालयका लागि मूर्ति तयार भइसकेका छन् भने अन्तरराष्ट्रियस्तरको सेमिनार हल, शीतल बाटिका, बगैँचा लगायतका काम गर्न बाँकी नै रहेको छ । कार्यशाला अवधिभर देश विदेश तथा छिमेकी जिल्लाबाट सयौँको संख्यामा पर्यटक पुगेका थिए ।

‘लामो प्रयासपछि केही सफलता मिलेको छ’, रानाले भने, ‘खुला सङ्ग्रहालय निर्माणमा स्थानीय, प्रदेश तथा सङ्घीय सरकारबाट समेत सहयोग भएको छ, ऐतिहासिक रुपले परिचित गलकोट खुला मूर्तिकला सङ्ग्रहालयले पनि चिनिँदैछ ।’

खुला सङ्ग्रहालय निर्माणका लागि आवश्यक २३ रोपनी जग्गा स्थानीय झंकबहादुर थापा लगायतले कलाप्रतिष्ठानका नाममा निःशुल्क दिएका हुन् । कला प्रतिष्ठानको नाममा आएको जग्गामा खुला सङ्ग्रहालय निर्माण गर्दा संरक्षणमा सहयोग पुग्ने आयोजकको अपेक्षा रहेको छ । सङ्ग्रहालय निर्माणस्थलमा रहेका मूर्तिकला हेर्न दैनिक करिब एक हजार आन्तरिक पर्यटक आउने गरेका छन् ।

टेउवामा विदेशी र नेपाली १५ मूर्तिकारले निर्माण गरेका १७ मूर्तिमध्ये एक बुद्ध र एक गणेशको बाहेक अरु मूर्ति प्रतिकात्मक र सन्देशमूलक छन् । जुन दृष्टिकोणले मूर्ति हे¥यो उस्तै आकार पाउन सक्ने कार्यशाला अवलोकनका लागि आएको आन्तरिक पर्यटक इन्द्रनाथ गौतमले जानकारी दिए ।

कार्यशालामा जापानबाट जुन इचिरो सुगीमोतो, चीनबाट लिउ याङ्ग, इटालीबाट बिटिनो फ्रान्सेनी, फ्रान्सबाट जिवियर्स गोँजालेज, ताइवानबाट लिन लि जेन, क्यानडाबाट जुली ग्ल्यास्पी, भारतबाट टुटु पटानायक, इजरायलबाट तान्या प्रिमिङ्गर, ब्राजिलबाट जर्ज लुइज र युक्रेनबाट मूर्तिकार ल्युड्मेल सहभागी थिए ।

नेपालबाट भने मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटे १०५ अन्तर्राष्ट्रिय मूर्तिकारबाट छनोटमा परेर मूर्तिकलामा सहभागी भएको कला प्रतिष्ठानका सचिव सुनमाया ढकालले जानकरी दिए ।

जसरी गलकोटस्थित सहस्रधारा खोलामा निर्जीवरुपमा सुतिरहेका ढुङ्गालाई मूर्तिकारले एकाएक टेउवामा प्राण भरेर ढडाए त्यसैगरी यहाँको पर्यटन व्यवसाय पनि उठ्ने र उत्तिकै फष्टाउने अपेक्षा यहाँका स्थानीय तथा समग्र बागलुङवासीले गरेका छन् ।

टेउवामा जापानबाट जुन इचिरो सुगीमोतोले नेपाल जापानको द्धैत्य सम्बन्ध र विप्रेषणले पारिरहेको असरको प्रतिकात्मक मूर्ति तयार गर्नुभएको छ । यस्तै चीनबाट लिउ याङ्गले पानी, पोखरी र जीवन झल्काउने मूर्ति तथा इटालीबाट सहभागी बिटिनो फ्रान्सेनीले औँठा छापको महत्व दर्शाउने गरी कागज र बूढीऔँलाको आकृति बनाएका छन् ।

त्यसैगरी फ्रान्सबाट सहभागी जिवियर्स गोंजालेजले प्रकृतिमा पानी र जीवनको महत्व, ताइवानका लिन लि जेनले जीवन चक्रको महत्व, क्यानडाका जुली ग्ल्यास्पीले सङ्घर्षशील महिलाको जीवन झल्काउने आकृति, भारतका टुटु पटानायकले हनुमानले सञ्जीवनी बुटीसहितको पहाड बोकेको आकृति बनाएका छन् ।

इजरायलका मूर्तिकार तान्या प्रिमिङ्गरले पन्छीको आकृति, ब्राजिलका जर्ज लुइजले गलकोट घुम्टे पहाडको नमूना आकृति, युक्रेनका मूर्तिकार ल्युड्मेलले हिमालयनको देशबाट देखिने तीन प्रकारका चन्द्रमाको आकृतिको मिश्रण निर्माण गरेका छन् ।

त्यस्तै नेपालका मूर्तिकार प्रविणकुमार श्रेष्ठले भगवान् गणेशको जस्तो आकृति, ओम खत्रीले पन्छीको आकृति, राजन काफ्ले प्रविधि र परम्पराको मिश्रण, बुद्ध चौधरीले भगवान गौतम बुद्ध र उपदेश चक्र र राजु पिथाकोटेले जङ्गल, जमिन र जलको महत्व दर्शाउने कलात्मक मूर्ति निर्माण गरेका छन् ।

यस्ता कलात्मक तस्बिर निकै अनुसन्धानमूलक र कैयौँ वर्ष पछि पनि त्यत्तिकै सान्दर्भिक हुने नेपाली मूर्तिकार राजु पिथाकोटले बताए । ‘अहिले सान्दर्भिक भएको मूर्ति केही वर्षमै फुटाउने खालको समेत हुन्छ’, पिथाकोटले भने, ‘अहिले यहाँ निर्माण भएका मूर्तिहरुको जति पछि भयो त्यति नै महत्व हुन्छ, समग्र मूर्ति जीवन र जगतलाई झल्काउने खालका छन् ।’

मानिसको दृष्टिकोणअनुसार एउटै मूर्तिलाई धेरै तरिकाले हेर्न सकिने हुनाले कला विषय अध्ययनरत विद्यार्थीका लागि यो खुला सङ्ग्रहालय निकै अध्ययनमूलक हुने महिलाको सङ्घर्ष ढुङ्गामा उतार्नुभएकी क्यानडाकी मूर्तिकार जुली ग्ल्यास्पीले बताइन् । उनले प्रकृतिको काखमा मूर्ति कुद्न पाउँदा आफू निकै उत्साहित भएको बताइन् ।

मूर्तिकला सङ्ग्रहालय हेर्न आउने स्वदेशी तथा विदेशी पर्यटक गलकोटका अन्य पर्यटकीयस्थल गाईघाट झरना, सहस्रधारा झरना, गलकोट दरबार र घुम्टेसम्म पुर्‍याउन सकिएमा गलकोटमा पर्यटकीय चहलपहल बढ्ने सम्भावना रहेको जिल्ला पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताए । ‘अहिले कालिका मन्दिर, पञ्चकोट, शालिग्राम सङ्ग्रहालय र भैरवस्थान लगायतका पर्यटकीय स्थलमा पर्यटकको सङ्ख्या बढ्न थालेको छ, मूर्तिकला सङ्ग्रहालय स्थापनासँगै बागलुङ पर्यटनको केन्द्र बन्ने छ’, खड्काले भने ।

खुला सङ्ग्रहालय परिसरमा गलकोट नगरपालिका–५ हरिचौर हिस्लाङ निवासी चित्राकुमारी श्रीषको ८४औँ जन्मदिनका अवसरमा उनकी छोरी शान्ति श्रीषले रु तीन लाख ११ हजारको लागतमा झण्डै ५० मिटर पदमार्ग समेत निर्माण गरेका छन् ।

मूर्तिकारको त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सहप्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको हो । मूर्तिकला कार्यशालाका लागि हालसम्म गलकोट नगरपालिकाले रु १२ लाख, गण्डकी प्रदेश सरकारबाट रु ४५ लाख, नेपाल सरकारबाट रु ५० लाख सहयोग भएको छ ।

यस्तै खुला सङ्ग्रहालयलाई अन्तिम रुप दिन साधारण सदस्य, आजीवन सदस्य, मानार्थ सदस्य तथा संरक्षकलगायतका सदस्य निर्माण गरी सहयोग रकम लिँदै आइएको छ । कला प्रतिष्ठानमा आजीवन सदस्य बन्नका लागि रु १० हजार तथा मानार्थ सदस्यका लागि रु एक लाख तथा संरक्षक बन्नका लागि रु पाँच लाख सहयोग गर्नुपर्ने नियम बनाइएको छ । हाल कला प्रतिष्ठानका ५५० आजीवन सदस्य भइसकेका छन् ।

विसं २०७४ मा १२ करोडको लागतमा खुला सङ्ग्रहालयको विस्तृत अध्ययन प्रतिवेदन, डिपिआर तयार गरी काम थालिएको थियो । सङ्ग्रहालयमा हालसम्म झण्डै ३ करोड रुपैयाँ खर्च भइसकेको छ । खुला सङ्ग्रहालयमा निर्माण भएका कलात्मक मूर्तिको संरक्षणका लागि भने निकै चुनौती रहेको छ । पर्यटकहरुको आगमनसँगै मुर्तिको संरक्षणमा सहयोग पु¥याउन २३ रोपनी जग्गालाई तारबार गरिएको भए पनि अझै व्यवस्थितरुपमा संरक्षण गर्न आवश्यक रहेको कला प्रतिष्ठानले जनाएको छ ।

मूर्तिकला कार्यशाला विभिन्न विद्यालयका विद्यार्थीको शैक्षिक भ्रमणको गतिलो गन्तव्यका रुपमा विकास हुने अपेक्षा पनि गरिएको छ । गलकोटको केन्द्र हटियादेखि टेउवा पुग्ने ६ किलोमिटर सडक कालोपत्र, सङ्ग्रहालय हेर्न आउने पर्यटक लक्षित गरी होटल, रिसोर्ट र सुरक्षा लगायतको व्यवस्थापन गर्नसकेमा यहाँको पर्यटनमा अझै टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्