सेवावधि नसकिंदै डीआईजी सुब्बाले दिए राजीनामा


२३ फाल्गुन २०७६, शुक्रबार
dig

काठमाडौं, २३ फागुन । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआइजी) डा.. राजीव सुब्बाले राजीनामा दिएका छन्।

उनले राजीनामा दिएको कुरा प्रहरी प्रवक्ता शैलेस थापाले पुष्टि गरेका छन् । प्राविधिक तर्फका डीआइजी सुब्बा लगभग २५ वर्षदेखि प्रहरी सेवामा कार्यरत छन् । उनको राजीनामाको कारण भने प्रहरी प्रधान कार्यालयले खुलाउन चाहेको छैन ।

डीआईजी सुब्बाले २०५२ साल भदौमा प्रहरी सेवा शुरु गरेका थिए । उनी पछिल्लो चार वर्षदेखि डीआईजीमा कार्यरत थिए । सेवाअवधि सकिनु एक वर्ष पहिले नै उनले राजीनामा दिएको जनाइएको छ ।

मंगलबार बुझाएको राजीनामा पत्रमा घराएसी कारण देखाए पनि डीआईजी सुब्बा सञ्चार निर्देशनालयमा अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी नहुँदा असन्तुष्ट रहेको स्रोतले जानकारी दिएको छ । उनले पछिल्लो समय प्राविधिकतर्फ पनि एआईजीको दरबन्दी थप गर्न माग गर्दै आएका थिए । अन्य सेवातर्फ उनीभन्दा जुनियर प्रहरी एआईजी भइसकेका छन् ।

गत पुसमा प्राविधिक तर्फकै डा. आशा सिंह एआईजीमा बढुवा भएकी थिइन् । उनीलगायत हाल प्राविधिकतर्फका सबै डीआईजी सुब्बा भन्दा जुनियर हुन् । सञ्चार निर्देशनालय अन्तर्गत तीन हजार सात सय प्रहरी कार्यरत छन् । डा. सुब्बा कम्प्युटर इन्जिनियर हुन् । गत मंगलबारबाटै लागू हुनेगरी राजीनामा दिए पनि स्वीकृत भइसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७