डा. केसीलाई छाड्न आदेश, प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाइयो


२६ पुष २०७४, बुधबार
Detained dr kc in Bir hospital 02

काठमाडौं : अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको छ, भने केसीले उठाएको माग बमोजिम प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्र र नागरिकताको फाइल पनि झिकाउन आदेश दिएको छ।

Detained dr kc in Bir hospital 02

थुनछेक बहस पछि न्यायधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले यस्तो आदेश दिएको हो ।आदेशमा भनिएको छ, ‘यसमा विपक्षीले प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा विभिन्न कुराहरु लेख्नु भएतापनि अदालतमा बयान गर्दा न्याय सम्पादन गर्ने न्यायाधीशहरुलाई म सम्मान गर्दछु, अदालतलाई घृणा हुने अभिव्यक्ति मैले दिएको छैन, स्वच्छ आलोचना मात्र गरी अदालत लगायत समाजलाई घच्घच्याएको हुँ, भनी बयान गर्नु भएको देखिन्छ । साथै विपक्षीको स्वास्थ्य अवस्थासमेतलाई विचार गर्दा प्रस्तुत मुद्दामा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई विपक्षी डा। गोविन्द केसीलाई मुलुकी ऐन बमोजिम तारेखमा राखी निजको तर्फबाट बहसमा उपस्थित विद्धान वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको जिम्मामा छोडी बाँकी कारवाही गर्नु ।’

यसैगरी सर्वोच्चद्वारा काममा फर्कन आदेश दिएका आइओएमका डिन डा.शशि शर्माको फैसला साथै राखेर पेश गर्न समेत अदालतले भनेको छ। केसीले अदालतको आदेशलाई सकारात्मक रुपमा लिएको बताए । अवहेलना मुद्दामा पक्राउ परेका केसी अदालतको आदेशपछि आज रिहा भएका छन्। रिहा भएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अदालतको आदेशलाई सकारात्मक रुपमा लिएको छु, बाँकी कुरा भोलि भन्छु।’ उनका सहयोगी अभिषेक शाहका अनुसार अब केसी शिक्षण अस्पतालमै अनसन बस्ने भएका छन्।

मंगलबार डा.केसीले आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको भन्दै कारबाही गर्न माग गरेका थिए। न्यायाधीश ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा मंगलवार बयान दिदै डा केसीले प्रधानन्यायाधीश माथि छानविनको माग गरेका हुन् । डा.केसीले प्रधानन्यायाधीश पराजुलीमा प्रधानन्यायाधीश हुने चाहिने उच्च नैतिकता नभएको, कार्यक्षमताको अभाव रहेको र उनका फैसला वा आदेशहरुमा बदनियत भेटिएको आरोप लगाएका थिए ।

डा. केसीले प्रधानन्यायाधीश पराजुलीले दुई ठाउँबाट नागरिकता लिएको भन्दै उनीमाथि न्यायिक छानबिन गरी कारबाही हुनुपर्ने माग राखेका छन् । ‘प्रधानन्यायाधीश पराजुलीले दुई ठाउँबाट नागरिकता लिएको कुरा कहीँ कतै छिपेको छैन’, केसीले दिएको लिखित बयानमा भनिएको छ, ‘पराजुलीले दुई ठाउँबाट नागरिकता लिएका मात्र छैनन्, उमेर पनि सच्चाएका छन् ।’

केसीले प्रधानन्यायाधीश पराजुलीले एसएलसी पास गरेको प्रमाण कहीँ कतै नरहेको भन्दै दोहोरो नागरिकताबारे पनि प्रश्न उठाएका हुन् । उनले भनेका छन्, ‘निज गोपाल पराजुलीले एसएलसी पास गरेका छन् कि छैनन् भन्ने बारेमा विवाद छ। सो सम्बन्धमा विगतमा प्रधानन्यायाधीश सुशीला कार्कीबाट भएको आदेश र मिसिललाई पनि हेरी संलग्न गरी पाऊँ। निज पराजुलीको शैक्षिक प्रमाणपत्र जाँच गरी पाऊँ। न्यायाधीश हुनका लागि शैक्षिक प्रमाण पत्र नभएको व्यक्ति प्रधानन्यायाधीश हुन सक्छन् के यो राज्य र अदालतजस्तो संस्थालाई गुमराहमा राख्ने आपराधिक कार्य होइन ।’

सोमबार १४ औ अनसन शुरु गर्ने क्रममा डा केसीले प्रधानन्यायाधीश पराजुलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु अर्यालले सोमवार अबहेलना मुद्दा दायर गरेका थिए । सोमवार नै सर्वोच्च अदालतले केसीलाई बयानका लागि मंगलवार ९ बजे सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो । सोमवार अनसन स्थलबाटै पक्राउ परेका डा केसीलाई बयानका लागि बिहान ९ बजे अगावै सर्वोच्च अदालत पुराइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७