कोइला खानीको सुरुङ्गभित्र २४ वर्ष


प्रकाशित मिति : March 7, 2020

काठमाडौं, २४ फागुन । यमबहादुर राना हरेक बिहान भगवान् सम्झिन्छन् । त्यसपछि उनै भगवानलाई पुकार्दै कोइलाखानीको सुरुङभित्र पस्छन् । बाहिर निस्कने निश्चित हुँदैन ।

सुरुङ बाहिर आएर उज्यालो देख्न पाउनुलाई भाग्य ठान्छन् । परिवारलाई सुरुङमा पसेका आफन्त घर फर्किन्छन् फर्किन्नन् दिन दिनै सुर्ता हुन्छ । चार सय मिटर गहिरो सुरुङमा बिना कुनै सुरक्षा दिनमा कैयौं पटक ओहोरदोहोर गर्छन् ।

भित्र पसेर पानी निकाल्छन्, कोइला खन्छन्, बोकेर बाहिर ल्याउँछन् । सुरुङ जोखिमपूर्ण छ । भत्किने त्रासले ठाउँठाउँमा काठका टेको लगाइएको छ । बोरा राखेर अड्याइएको छ । सुरुङभित्र सजिलै पानी जम्ने भएकाले कोइला निकाल्न सजिलो छैन । पानी फालेपछि बल्ल कोइला खन्न सुरु गर्छन् ।

दाङको घोराहीको उत्तरी पहाडमा रहेका कोइलाखानीमा सयौं कामदार दिनहुँ यसैगरी जोखिमपूर्ण काम गर्छन् । ‘बाँचे फर्कुंला भन्दै भित्र पस्छौं । बाहिर निस्केपछि ठूलो युद्ध जिते जस्तो हुन्छ,’ रानाले भने, ‘दिनदिनै मन ढुकढुक हुन्छ । कतिबेला के हुने हो केही भन्न सकिँदैन ।’

५४ वर्षीय रानाले यसैगरी सुरुङभित्र २४ वर्ष बिताइसके । घोराही उपमहानगरपालिका–१२ भलडाँडा निवासी उनी नै कोइलाखानीका पुराना मजदुर हुन् । अहिले पनि बिहान ८ बजे सुरुङभित्र पसिसक्छन् । शरीर पूरै कोइला जस्तो, जता पनि कालै । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्