दुर्गमको विद्यालयमा विद्यार्थीको भार


२४ फाल्गुन २०७६, शनिबार
Dolpa

डोल्पा, २४ फागुन । डोल्पा ! नाम सुन्न बित्तिकै दुर्गम, अभाव र समस्या छ भन्ने सबैको दिमागमा पर्छ । तर ठूलीभेरी नगरपालिका अर्थात सदरमुकाम दुनैको सरस्वती माध्यमिक विद्यालयमा पुग्ने जोकोहीले उक्त भावना र भनाइभन्दा बेग्लै महसुस गर्न सक्छ ।

कक्षा ११ र १२ तथा सिटीइभिटीको तीन वर्षे सिभिल इञ्जिनीयरिङ पढाइ हुने सो विद्यालयमा अहिले विद्यार्थीको चाप अत्यधिक बढेको प्रधानाध्यापक सत्यनारायण सिंहले जानकारी दिए । जिल्लाका अन्य भागका विद्यार्थी मात्र होइन, जाजरकोट, सल्यान, बाँके र सुर्खेतबाट सरस्वती माविमा विद्यार्थी पढ्न आउनेको भिड लाग्ने गरेको छ ।

आवासीय सुविधा भएको विद्यालयमा एकै कक्षामा १४० भन्दा बढी विद्यार्थी राख्न बाध्य भएको सिंहको भनाइ थियो । उनले भने, ‘विद्यार्थी भर्ना गर्न धेरै आउँछन्, भर्ना गर्न नेतासम्मको फोन आउने गरेको छ तर हामीसँग विद्यार्थी राख्ने ठाउँ नै छैन कसरी राख्नु ।’

कक्षा ६ देखि १२ सम्म पढाइ हुने विद्यालयमा प्रयोगात्मकदेखि सबै खालका क्रियाकलाप गरेर पढाइ हुन्छ । विद्यार्थी अनुपातमा शिक्षकको संख्या कम भए पनि सबैले मेहनत साथ पढाउँदा विद्यालय सबैको नजरमा पर्न सफल भएको प्रअ सिंहको भनाइ छ ।

विसं २०३४ मा स्थापना भएको सो विद्यालयमा २०७५ सालमा सिटीइभिटीको कक्षा सञ्चालन गरिएको थियो । त्यस्तै २०५१ सालमा कक्षा ११ र १२ सञ्चालनमा आएको विद्यालय अहिले विद्यार्थीको चापले गर्दा भर्ना कार्यसमेत बन्द गर्नुपरेको छ ।

कक्षा ११ र १२ मा चार, ९ र १० मा पाँच, निमावि तहमा चार र सिटीइभिटी तीन जना शिक्षकको भरमा विद्यालय सञ्चालन भएको छ । जिल्लाभित्र भन्दा बाहिरबाट बढी विद्यार्थी पढ्न आउने गरेको पाइएको छ ।

कक्षा ६, ७, ९ र १० मा बढी विद्यार्थीको चाप छ । दुर्गममा पढेको भन्दै नाम कमाउन र राम्रो अङ्क ल्याउनका लागि यो विद्यालय धेरैको रोजाइमा पर्दै आएको छ । शुरुका दिनमा सरस्वती मावि भन्ने बित्तिकै भर्ना भएका विद्यार्थी समेत झिकेर सुविधा सम्पन्न ठाउँमा अर्थात निजी विद्यालयमा पढाउने चलन थियो ।

अहिले निजी विद्यालयसमेत छाडेर सरस्वती माविमा विद्यार्थी आइरहेका छन् । मुड्केचुला गाउँपालिका इलका जगत रोकाय भन्छन्, ‘पढाइ राम्रो नहुँदा जिल्ला बाहिर लाने चलन थियो, अहिले निजी विद्यालयभन्दा सरस्वती माविको पढाइ अब्बल छ किन हामीले महँगो शुल्क तिरेर विद्यार्थी बाहिर पढाउने’, उनी थप्छन्, ‘अन्य विद्यालयले पनि सरस्वती माविकै सिको गरेर शैक्षिक अवस्था सुधार गरे कति राम्रो हुन्थ्यो ।’

दुई शैक्षिक सत्रमा पढाइ हुने डोल्पामा फागुन १ गतेदेखि भर्ना अभियान शुरु हुन्छ । चिसो मौसममा बिदा दिने प्रचलनअनुसार हिउँदे बिदा सकेर फागुन १ देखि भर्ना अभियान शुरु भई १५ गते सकिन्छ । विज्ञान प्रयोगशाला, कृषि विज्ञानका सबै सामग्री विद्यालयमा व्यावहारिक रुपमा सिकाइन्छ ।

आर्थिक अभावमा कारण देशका महँगा शहरमा जान नपाएका विद्यार्थीको अवस्थालाई ध्यान दिएर सिटीइभिटीबाट तीन वर्षे सिभिल इञ्जिनीयरिङ समेत यसै विद्यालयमा पढाइ हुँदै आएको छ । विसं २०७५ देखि सिटीइभिटीबाट तीन वर्षे सिभिल इञ्जिनीयरिङ पढाइ शुरु भएसँगै यस क्षेत्रका विद्यार्थीले समेत पढ्न पाएका छन् । पढाइ राम्रो हुँदाहुँदै पनि आर्थिकरुपमा पछि परेका विद्यार्थी पढ्नबाट वञ्चित भएमा यहाँ समेटिने गरेको प्रअ सिंहले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७