बदलिंदै बाजुरा : छाउ हुँदा पनि छुटाउन छाडे विद्यालय


२४ फाल्गुन २०७६, शनिबार
school student nepal

बाजुरा, २४ फागुन । बाजुराको बूढीनन्दा नगरपालिका–४ सिमकुरुको भावना आधारभूत विद्यालयमा अध्ययनरत रमिता रोकाया र बीमा रोकाया दुई वर्ष अघि वार्षिक परीक्षाको समयमा महिनावारी भए ।

महिनावारी हुँदा विद्यालय जानु हुँदैन भन्ने अन्धविश्वास थियो । त्यसै कारण कक्षा ७ मा पढ्ने दुवै परीक्षा छोड्न तयार भए तर विद्यालय गएनन् । विद्यालय नजिकै देवीदेउताको मन्दिर समेत भएकोले समाजकै डरले उनीहरु विद्यालय पुगेनन् ।

उनीहरुलाई अर्को प्रश्न पत्र बनाएर परीक्षा लिन विद्यालयलाई सम्भव थिएन । शिक्षकले पनि विद्यालयमा नै आएर परीक्षा दिन लगाउने आँट गरेनन् बरु घरमै प्रश्न पत्र पु¥याएर शिक्षकको निगरानीमा परीक्षा दिन लगाइयो ।

यो कुरुक्षेत्रको एउटा प्रतिनिधिमूलक प्रसङ्ग मात्र हो । विद्यालय परिसरमै भगवती माई, कैलाश, मस्टा देउताका मन्दिर छन् । देउताकै डरले उनीहरु महिनावारी भएको पाँच दिन विद्यालय नआउने गरेको भावना आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक दिनानाथ चौधरीले बताए ।

छात्रा मात्र नभई विद्यालय पढाउने शिक्षिकादेखि विद्यालय व्यवस्थापन समितिका महिला सदस्य समेत विद्यालयमा पढाउन र बैठकमा जाँदैनन् । महिनावारी हुन थालेका छात्राले वर्षको ६० दिन अनिवार्य विद्यालय बाहिर बस्नुपर्ने बाध्यता थियो । तर, हाल बिरामी र घरको अनिवार्य काम बाहेकका अरु दिन नियमित विद्यालय आउने गरेको शिक्षकको भनाइ छ ।

सोही नगरपालिका–४ कुरुक्षेत्रका देवलडाँडा मावि, भावना र बूढीनन्दा आधारभूत विद्यालयमा देखिने यी समान प्रकृतिका समस्या हुन् । महिनावारी हुँदा छात्रा विद्यालय नआउने देवलडाँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रह्लाद श्रेष्ठ स्वीकार गर्छन् । ‘ अहिले केही समय भयो छात्रा नियमित विद्यालय आउँछन्, अघिल्लो शैक्षिक सत्रसम्म कोही पनि आउँदैन थिए’, श्रेष्ठले भने ।

विद्यालयमा छात्रा नै बढी हुने तर उनीहरु नै नआउँदा पठनपाठनमा समस्या भएर शैक्षिक उपलब्धिनै न्यून हुन्थ्यो । ‘यो शैक्षिक सत्रदेखि केही सुधार भएको छ’, प्रअ श्रेष्ठको भनाइ थियो । देवडाँडा माविको शैक्षिक उपलब्धि दर हालसम्म पनि ४० देखि ४५ प्रतिशत छ । ‘छात्रा नियमित आउन थालेपछि सुधार भएको हो, केटाले मात्र नियमित कक्षा लिएर हुँदैन, शिक्षिका पनि नआउने दैनिकजसो पढाइ नै प्रभावित हुने गरेको थियो’, प्रअ श्रेष्ठले सुनाए ।

उनकै अनुसार अझै कुरुको घोडाकोट क्षेत्रका ३५ बढी छात्रा नियमित विद्यालय आउने गरेका छैनन् । बाटोमा दोगाडे खोला पर्ने र पर्वतबाट आएको पवित्र पानी महिनावारी भएको महिलाले नाघ्न नहुने अन्धविश्वासले नआएको बताइएको छ । तर यो शैक्षिक सत्रदेखि भने कुनै समस्या नभएको वडाध्यक्ष राजन रोकायाको भनाइ थियो ।

कुरुक्षेत्रलाई देवभूमिका रुपमा चिनिन्छ । कुरुक्षेत्रमा १२ कोटी देउता बस्ने गरेको धार्मिक मान्यता छ । हिँड्ने बाटासमेत अलग हुने र सिङ्गो बस्तीमा समेत छाउ हुँदा बस्न नपाइने प्रचलन छ । राज्यले ल्याएको कानून र त्यसको कार्यान्वयनसँगै सबै प्रकारका विभेद र अन्धविश्वास हटाउने अभियानपछि अवस्था सुधार हुँदै गएको छ । ‘वर्षमा ६० दिन बढी छात्रा गयल हुनुपर्ने अवस्था थियो, अब त्यो हटेको र शैक्षिक गुणस्तरमा सुधार देखिन थालेकामा खुशी लागेको छ’, वडा अध्यक्ष रोकायाको भनाइ थियो ।

विद्यालयमा पढाइ र शैक्षिक उपलब्धिसँगै महिलाको स्वास्थ्य र सुरक्षामा पनि सुधार हुँदै गएको भावना आधारभूत विद्यालयका शिक्षिका बेलकुमारी रोकायाले बताउनुभयो । पिसविन नामक गैरसरकारी संस्था र वडा कार्यालयले संयुक्तरुपमा छाउपडीविरुद्धको अभियान चलायो । गोठ भत्काएपछि बल्ल नियमित विद्यालय आउने र गोठ छोडेर घरभित्र बस्न थालेको वडाध्यक्ष रोकायाको भनाइ थियो ।

जनप्रकाश मावि कोल्टी कक्षा १२ मा पढ्ने करिश्मा रोकायासँग छाउ हुँदा विद्यालय नगएको सम्झना छ । ‘केही समययता मात्र हामी महिनावारी हुँदा विद्यालय आउने गरेका छौँ, त्यो पनि पिसविनका सर, वडा कार्यालयको दबाबमा नत्र कोही पनि विद्यालय आउने गरेका थिएनन्’, रोकायाले थपे ।

गाउँमा लामो समयदेखि छाउ कुप्रथाविरुद्ध अभियान सञ्चालन भइरहे । स्थानीयले कुरा सुने पनि कतिपयले त्यसलाई बेवास्ता गरे । गोठ भत्काउने र राज्यले दिने सुविधा रोक्ने लगाएका दबाबमूलक अभियान पछि बाध्य भएर विद्यालय जाने र घरमा बस्ने गरेको पिसविन स्थानीय अधिकार परियोजनाका कार्यक्रम संयोजक पदम कठायतले बताए ।

गाली गर्ने, गाउँ प्रवेशमा रोक लगाउने धम्की दिने गरेको स्मरण गर्दै कठायतले गाउँमा हाल कुनै गोठ नभएको र कुनै पनि छात्रा छाउ हुँदा विद्यालय बाहिर नरहेको परियोजना संयोजक कठायतले बताए ।

उक्त वडामा दुई हजार जनाको बसोबास छ । तीन वटा सामुदायिक विद्यालय छन् । देउताको मन्दिर बनाएर, मूर्ति चढाएरै भए पनि छाउ हुँदा घरमा बस्ने र विद्यालय नियमित जाने गरेको स्थानीय पिरुकला बोगटीले बताए । कुरुक्षेत्रमा मात्र ४० बढी गोठ भत्काइएका छन् ।

पछिल्लो समयमा स्थानीय प्रशासन, सङ्घसंस्था, प्रहरीको सक्रियतामा छाउगोठ भत्काइएका छन् । यहाँका नौवटै स्थानीय तहका ६९ वडामा रहेका छाउपडी गोठ प्रहरी, जनप्रतिनिधि र गैरसरकारी संस्थाको सहभागितामा हटाउने गरेको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७