भेडेटारको ‘जिपलाइन’ सञ्चालनमा, मुख्यमन्त्री र मेयर डराए, उपमेयर सरर


२५ फाल्गुन २०७६, आईतवार
jeepline

धनकुटा, २५ फागुन । धनकुटाको भेडेटारमा साहासिक खेल जिपलाइन शुरु भएको छ । करिब दुई वर्षको अध्ययनपछि ३ करोड लागतमा निर्माण भएको जिपलाइन सञ्चालनमा आएको हो । प्रदेश–१ को पहिलो जिपलाइनको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् ।

धरान उपमहानगरपालिका–४, भेडेटारबाट देवीथानसम्म ६५० मिटर लम्बाइको जिपलाइन निर्माण गरिएको हो । सो दूरी पार गर्न जिपलाइनलाई ४५ सेकेण्ड लाग्ने वल्र्डवाइड ग्रुप नेपालका केदारबहादुर थापाले जानकारी दिएका छन् ।

jeepline 1

उनका अनुसार, भेडेटारमा क्लासिक, सुपरम्यान र कपल (जोडी) गरी तीन तरिकाबाट खेलाइने छ । क्लासिक एक्लै झुण्डिएर र सुपरम्यानमा सुतेर यात्रा गर्नुपर्ने हुन्छ ।
जिपलाइनमा चढ्न मानेनन् मुख्यमन्त्री
आयोजकले जिपलाइन उद्घाटनपछि मुख्यमन्त्री शेरधन राईलाई जिपलाइनमा चढ्न आग्रह गरे । कार्यक्रम देवीथानमा राखिएको थियो । भेडेटार चोकमा रिबन काटेर स्टेशनको उद्घाटन गरेपछि आयोजकले मुख्यमन्त्रीलाई चढ्न आग्रह गरेका थिए । तर उनले जिपलाइनमा चढ्न नसक्ने बताए ।

उनीसँगै रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले पनि नचढ्ने निर्णय गरे ।
मेयर राईले आफ्नो र मुख्यमन्त्रीको प्रतिनिधित्व धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले जिपलाइन खेल्ने बताइन् ।

उपमेयर जिपलाइनबाट भेडेटारदेखि देवीथान कार्यक्रम स्थलसम्म पुगिन् । मुख्यमन्त्री र मेयर राई गाडीमा चढेर कार्यक्रम स्थलसम्म पुगे । जिपलाइनमा यात्रा गर्दा रमाइलो लागेको सुवेदीले बताइन् ।

जिपलाइनको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढ्ने बताएका छन् । भेडेटारमा निर्माण भएसँगै नेपालमा जिपलाइनको संख्या ४ पुगेको छ । यस अघि धुलिखेल, मकवानपुरगढी र पोखरामा जिपलाइन सञ्चालित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७