प्रहरीलाई १२ वर्षपछि सफलता, पत्रकार वीरेन्द्र साह हत्याका मुख्य योजनाकार पक्राउ


२५ फाल्गुन २०७६, आईतवार
birendra

बारा, २५ फागुन । नेपाल प्रहरीले बाराका पत्रकार वीरेन्द्र साह हत्याका मुख्य योजनाकारलाई १२ वर्षपछि पक्रिन सफल भएको छ ।

पत्रकार साहको हत्यापछि फरार कुन्दन फौजदारलाई प्रहरीले शनिबार राति उनकै घरबाट पक्राउ गरेको हो । फौजदारलाई बाराको बारागढी नगरपालिका–६ (साविक गडहल गाविस ५) स्थित उनकै घरबाट पक्राउ गरिएको बारा प्रहरी प्रमुख कृष्ण पंगेनीले बताए ।

‘यो हाम्रो चौथो प्रयास हो,’ एसपी पंगेनीले भने, ‘१२ वर्षपछि हामी पत्रकार वीरेन्द्र साह हत्याका मुख्य योजनाकार पक्राउ गर्न सफल भएका छौं ।’ उनका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले दुईरतीन ठाउँमा निगरानी बढाएको थियो ।

‘तर फौजदार घरमै भेटिए, पक्राउ गर्न खोज्दा उनी भाग्न खोजे, स्थानीयले पनि घेरा हाले,’ एसपी पंगेनीले भने, ‘भिडभाड बढेपछि प्रहरीले ४ राउन्ड हवाई फायर गरेर उनलाई पक्राउ गर्‍यो ।’

एसपी पंगेनीका अनुसार पत्रकार साह हत्यामा संलग्न ५ जनामध्ये फौजदार समेत गरेर तीन जना पक्राउ परे भने दुई जना अझै फरार छन् । ‘मुख्य योजनाकार चाहिँ अहिले पक्राउ परेका कुन्दन फौजदार नै हुन्,’ एसपी पंगेनीले भने, ‘यसअघि दुई जना पक्राउ परिसकेका छन् र जन्मकैद सजाय समेत पाइसकेका छन् ।’

उनका अनुसार अभियुक्त मनेजर गिरी ११ वर्ष जेल सजाय भोगेर कैदमुक्त भइसकेका छन् भने रामएकवाल सहनी अझै जेलमा छन् । अब अझै दुई अभियुक्त पक्राउ पर्न बाँकी छन् ।
एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार साहलाई २०६४ असोज १८ गते बाराको पिपरा बजारबाट अपहरण गरी टाँगिया बस्ती जङ्गलमा लगेर हत्या गरिएको थियो ।

शान्ति सम्झौतामा आइसकेको तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताले उनको हत्या गरेको थियो । अहिले फौजदारलाई बारा जिल्ला प्रहरी कार्यालयका हिरासतमा राखिएको छ । उनलाई आजै अदालतको जिम्मा लगाइने उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७