इटालीका डेढ करोड मानिस क्वारेन्टाइनमा, भागे तीन महिना जेल


२५ फाल्गुन २०७६, आईतवार
korona tanjug ap 1

इटाली, २५ फागुन । इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ ।

घातक कोरोना भाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम चाल्न बाध्य भएको जनाएको छ । क्वारेन्टाइनबाट भागेको खण्डमा तीन महिना जेल सजाय हुने पनि जनाइएको छ ।

इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले ट्विट गर्दै भेनिस र आर्थिक राजधानी मिलानलगायतको ठूलो क्षेत्रमा कम्तिमा एक महिनाका लागि आवागमनमा कडाई गर्ने एक योजनामा हस्ताक्षर गरेको बताएका छन् । प्रधानमन्त्री कोन्टेको आदेशमा मानिसको भिडभाड हुने सिनेमाघर, संग्रहालय, थिएटरहरु सबै बन्द गर्न भनिएको छ ।

‘कोरोना भाइरसकै कारण नयाँ आदेशलाई अन्ततः अनुमोदन गरेको छु’, कोन्टेले भनेका छन् । इटालीका अखबारहरु कोरियर डेला सेरा र अन्य संचार माध्यमले उत्तर इटालीमा आवागमन निषेध भएको भन्दै खबरहरु प्रकाशन गरेका छन् ।

इटालीमा कोविड–१९ कै कारण झण्डै २३० जनाको मृत्यु भइसकेको छ । चीन बाहिर यति ठूलो संख्यामा मानिसको मृत्यु भएको इटालीमै हो । चीनमा गत डिसेम्बरमा देखा परेको यस प्रकोपले विश्वका धेरै देशलाई प्रभाव पारिरहेको छ ।

विश्व बैंकका अनुसार जापान पछि इटालीमा विश्वमै बुढ्यौली उमेरका मानिसको बसोबास सर्वाधिक बढी छ, र नयाँ कोरोनाभाइरसबाट वृद्धहरू गम्भीर बिरामी हुने सम्भावना बढी देखिन्छ ।

स्थगित गर्नै नसकिने ‘गम्भीर’ कारण भएमा, अन्य जरुरी काम वा पारिवारिक मामिलाहरू भएमा बाहेक मानिसहरूलाई क्वारेन्टाइन क्षेत्रमा प्रवेश गर्न वा छाड्न अनुमति दिइने छैन, कोरियर डेला सेराले लेखेको छ ।

यसमा सम्पूर्ण लोम्बार्डी क्षेत्रका साथै भेनिस र वरपरका क्षेत्रहरू, र पर्मा र रिमिनी शहरहरू सामेल छन् । यसबाट इटालीको कूल ६ करोड जनसंख्याको एक तिहाईलाई असर पार्नेछ ।

यी ठाउँहरूमा सङ्ग्रहालयहरु, रात्रिक्लब, जिमखाना र क्यासिनोहरू बन्द गरिने छन् । सकेसम्म मानिसलाई घरभित्रै बस्ने सल्लाह दिइएको बताउँदै उक्त अखबारले यी प्रतिबन्धहरू आगामी अप्रिल ३ सम्म लागू हुने जनाएको छ ।

यी क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई आआफ्ना घर फर्कन दिइनेछ । बारहरू र रेष्टुरेन्टहरूमा ग्राहकहरु एक अर्कासँग करिब एक मिटर टाढै रहने प्रबन्ध सुनिश्चित गरेमा खुला राख्न अनुमति दिइनेछ ।

इटालीमा गरिएको यो प्रबन्ध चीनको हुबे प्रान्तको झैं छ । हुबेको राजधानी उहानमा भाइरसको प्रकोप देखिएपछि यहाँ जनवरीको अन्त्यदेखि पूरै शहरलाई अन्य क्षेत्रबाट अलग राखिएको छ ।
विश्वव्यापी रूपमा, कोरोना सङ्क्रमित व्यक्तिको संख्या एक लाख नाघिसकेको छ । यस रोगबाट हालसम्म ३ हजार ५०० जनाको मृत्यु हुनुका साथै विश्वका ९५ भन्दा बढी देशमा कोरोना फैलिइसकेको छ । रासस–एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७