भारतबाट ६ नेपाली युवतीको उद्धार, साँस्कृतिक कार्यक्रम भन्दै अश्लिल नृत्य गर्न पारियो वाध्य


२६ फाल्गुन २०७६, सोमबार
women

पटना, २६ फागुन । साँस्कृतिक कार्यक्रम देखाउनु हुनुपर्ने र आकर्षक पारिश्रमिक पाइने प्रलोभन देखाएर भारत लगिएका ६ नेपाली युवतीलाई अश्लील नृत्यका लागि बाध्य पारिएको खुलेको छ ।

भारतको उत्तर प्रदेश र बिहार राज्यमा सांस्कृतिक कार्यक्रममा सहभागी हुनुपर्ने भन्दै उनीहरुलाई नेपालबाट लगेर ‘आर्केस्ट्रा’ मा अश्लिल नृत्य गर्न लगाएको उनीहरुको उद्धारपछि खुलेको छ । भारतमा पुगिसकेपछि उनीहरुलई छोटा कपडा लगाएर अश्लिल नृत्यका लागि बाध्य पारिएको हो ।

हालै यस्तो धन्दामा संलग्न रहँदै आएका ६ नेपाली युवतीको उद्धार गरिएपछि यो तथ्य उजागर भएको हो । पीडित युवतीहरुका अनुसार उनीहरुलाई प्रतिमहिना २५ देखि ३० हजार भारतीय रुपैयाँ पारिश्रमिक दिने प्रलोभनमा भारत ल्याइएको थियो । शुरुमा उत्तर प्रदेशमा लागिएका उनीहरुलाई पछि बिहारमा पुर्‍याइएको थियो ।

नालन्दास्थित ‘मुस्कान आर्केस्ट्रा’ मा लगेर उनीहरुलाई बिहे तथा अन्य अवसरमा आयोजना हुने नृत्यमा सहभागी गराइएको जनाइएको छ । यस क्रममा उनीहरुलाई छोटा कपडा लगाउन बाध्य पारिएको र अश्लिल हाउभाउका साथ प्रस्तुति गर्न दबाब दिइएको पीडितहरुले बताएका छन् ।

उक्त समूहबाटै भाग्न सफल एक जनाले गोरखा सेवा संघका सुरज थापालाई घटनाबारे जानकारी दिएपछि थापाकै समन्वयमा भारतीय प्रहरीले ती युवतीलाई उद्धार गरेको बताइएको छ ।
उनीहरुलाई जबरजस्ती अश्लिल नृत्य गर्न लगाउने मुस्कान आर्केस्ट्राका सञ्चालक भने फरार रहेको प्रहरीको भनाइ छ । उद्धार गरिएका नेपाली युवतीलाई सोमबार रक्सौल नाकामा उनीहरुको परिवारजनको जिम्मा लगाउने जनाइएको छ ।

यसैबीच उत्तर प्रदेशको कानपुरबाट पनि प्रहरीले देह व्यापारमा संलग्न एक नेपाली युवतीलाई नियन्त्रणमा लिएको छ । ‘अनलाइन’ मार्फत ग्राहकसँग सम्पर्क गरेर नेपाल र पश्चिम बंगालका युवतीलाई देह व्यापारमा संलग्न गराउँदै आएको एउटा अखडामा छापा मारेर प्रहरीले एक नेपालीसहित तीन युवती र केही युवकलाई नियन्त्रणमा लिएको हो ।

ह्वाट्सएपमार्फत युवतीको फोटो पठाउने र ग्राहकले रुचाएको खण्डमा रकम तय गरेर युवतीलाई देह व्यापारमा पठाउने गरेको बताइन्छ । प्रहरीले उक्त धन्दामा संलग्नलाई पक्राउ गरे पनि सञ्चालक भने फरार रहेको बताइएको छ । पक्राउ परेकी नेपाली युवतीको परिचय खुलाइएको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७