कलङ्की-चावहिल सडक विस्तारका लागि मुआब्जामै दुई अर्ब १० करोड खर्चिनु पर्ने

१० किमीको कलङ्की–चावहिल खण्डमा दुई अण्डरपास र १० ओभरहेड व्रिज बन्ने


२६ फाल्गुन २०७६, सोमबार
Kalanki sitapaila

काठमाडौं, २६ फागुन । सरकारले चक्रपथ विस्तारको दोस्रो खण्ड (कलङ्की–चावहिल) को काम अगाडि बढाएको छ ।

सडक विस्तार कार्यक्रम अनुसार अहिले सो सडक खण्ड आसपासका रुख कटानलगायत सडक क्षेत्राधिकारका संरचना हटाउने काम चरणवद्ध रुपमा अगाडि बढाइएको छ । यो खण्डमा अहिले सडकको अधिकार क्षेत्रमा साइट क्लियर गर्ने काम भइरहेको छ ।

चक्रपथ विस्तार आयोजना प्रमुख अमृतमणि रिमालका अनुसार खानेपानीको पाइप हटाउन ठेक्का लागेर काम शुरु भइसकेको छ । त्यसै गरि विद्युतका पोल समेत सार्ने काम शुरु भइसकेको छ । यस्तै रुख कटान अन्तिम चरणमा पुगेको छ । करिव २२ सय रुख काट्नुपर्ने देखिएको छ ।

चक्रपथ दोस्रो खण्ड (कलङ्की–चावहिल सडक) विस्तार गर्न दुई अर्ब १० करोड बढी मुआब्जा तयार गर्नुपर्ने देखिएको छ । वितरण गरिने मुआब्जामध्ये दुई अर्ब सात करोड हाराहारी रकम महाराजगञ्ज चोकमै खर्च हुने जनाइएको छ ।

सडक विस्तारका लागि साइट क्लियर (सडक संरचना खालइ गराउने काम) पनि यहिं नै बढी रहेको उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले जानकारी दिएका छन् । चक्रपथको सडक सीमा ६२ मिटर कायम गरिएको छ ।

तर महराजगञ्जचोकको करिव २४४ मिटर सडक खण्डमा ३० मिटर मात्रै कायम गरिएको छ । स्थानीयले तत्काली राजा वीरेन्द्र शाहलाई अनुरोध गरेर सडकको सीमा घटाउन लगाएका थिए ।

सडकको केन्द्रबाट दुवैतिर अहिलेको सडकमा १६–१६ मिटर दुवैतिर कायम गर्नुपर्नेछ । यसमा ४० वटा पुरै पक्की घर पर्छन् भने केहि संरचनाको थोरै भाग पर्ने तिवारीले जानकारी दिए । पुरै निजी घर रहेका कारण जग्गा समेत अधिग्रहण गर्नुपर्ने अवस्था छ । बाँकी अन्य खण्डमा भने ६२ मिटर कायम गरिएका कारण समस्या छैन् । केही संरचनाको मात्रै मुआब्जा दिए पुग्ने तिवारीले बताएका छन् ।

प्राधिकरणले गरेको सर्भेका आधारमा दुई अर्ब सात करोड महाराजगञ्ज क्षेत्रमा मात्र लाग्ने देखिएको तिवारीले बताएका छन्  । जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप हेरेर निर्णय गर्दा दररेट केही फरक पर्न सक्ने उनी बताउँछन् । जिल्ला प्रशासनले निर्णय गरेपछि महाराजगञ्ज चोकको मुआब्जा वितरण प्राधिकरणले गर्नेछ भने बाँकी आयोजना आफैले गर्ने उनले जानकारी दिए ।

चीन सरकारसँग यो खण्ड विस्तारका लागि आर्थिक र प्राविधिक सहयोगमा गर्ने गरी द्विपक्षीय सम्झौता (एमओयु) भइसकेको छ । साइट क्लियर भएपछि चिनियाँ पक्षले काम शुरु गर्ने गरी सहमति गरेका थिए । चीनमा कोरोना भाइरस फैलिएका कारण उनीहरु आउन नसकेकोले काम अगाडि बढाउन ढिला भइरहेको जनाइएको छ ।

करिव १० किलोमिटरको यो खण्डमा दुई वटा अण्डरपास र १० वटा ओभरहेड व्रिज हुने छन् । आठ लेनमा विस्तार गरिने यो सडकमा चार वटा मुख्य लेन र दुवैतिर दुई दुई लेनको सडक हुनेछ ।
पहिलो खण्डको तुलनामा केहि फरक डिजाइनमा विस्तार हुने रिमालले जानकारी दिएका छन् ।

बीचमा ग्रिनरी मेडियन, दुवैतिर स्मार्ट स्ट्रिट लाइट, पर्याप्त जेव्राक्रसिङ हुने जनाइएको छ । चीन सरकारकै सहयोगमा कोटेश्वर–कलङ्गी पहिलो खण्ड विस्तार भएको थियो । दोस्रो खण्ड चीनले नै बनाउँदैछ भने बाँकी रहेको चावहिल (गोपीकृष्ण हल छेउ) बाट कोटेश्वर रहन्छ । कोटेश्वरदेखि तिलगंगा नेपाल सरकार आफैले नमुना सडक बनाउने भन्दै डिजाइन तयार पारिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७