‘रोनाल्डिन्होलाई आफ्नो राहदानी नक्कली भन्ने थाहै थिएन’


२६ फाल्गुन २०७६, सोमबार
ronaldinho passport1

आसुनसिओन, २६ फागुन । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उनका ब्राजिली वकील सर्जिओ क्वीरोजले दाबी गरेका छन् ।

क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारीहरु समक्ष आग्रह पनि गरेका छन् ।

पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उनका भाइ रोबर्टोले नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीहरुले बताएका छन् । उनीहरु दुबै जना यही मामिलामा विगत तीन दिनदेखि पाराग्वेको राजधानी आसुनसिओनको जेलमा थुनिएका छन् ।

वकील क्वीरोजले भने, ‘रोनाल्डिन्होले कुनै अपराध गर्नु भएको छैन किनभने उहाँलाई दिइएको पासपोर्ट नक्कली हो भन्ने उहाँलाई पनि थाहा थिएन ।’

पाराग्वेका अधिकारीहरुले जेलमा रोनाल्डिन्होको व्यवहार निकै राम्रो भएको र न्यायाधीशले पनि उनीप्रति सहानुभूति देखाउने सम्भावना रहेको बताएका छन् ।

रोनाल्डिन्हो र उनका भाइ रोबर्टो ब्राजिलबाट गत बुधबार पाराग्वे आइपुगेका थिए । विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेका थिए । रासस–एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७