रौनक गुमाएको निरस फागु


२६ फाल्गुन २०७६, सोमबार
MinThakuri Attariya RSS photo42 1

बागलुङ, २६ फागुन । बागलुङ बजारका सडक, चोक र गल्लीमा फागुको रौनक बिहानै छाइसक्थ्यो । बच्चादेखि युवायुवती हुल बाँधेर हिँड्थे । एकापसमा रङ दल्दै खुशी साट्थे । फागु पर्वको शुभकामना आदानप्रदान गर्थे । सडक पनि रङ्गिन्थ्यो ।

यसपालिको फागुले भने रौनक गुमाएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्न सरकारले सावधानीपूर्वक फागु मनाउन भनेको छ । भीडभाड नगर्न, रङ र पानी नछ्याप्न आग्रह गरेको छ ।

स्थानीय प्रशासनले समेत फागु लक्षित मेला, उत्सव र साङ्गीतिक कार्यक्रममा रोक लगाएको छ । समूहमा फागु खेल्ने, रमाउने गरेका युवा युवतीले खल्लो महसुस गरेका छन् । फागु पर्व सीमित साथीभाइ, घर र परिवारमा सीमित भएको छ ।

बागलुङ सदरमुकामको हल्लनचोक बर्षेनी फागु पर्वमा गरमाउँथ्यो । स्थानीय क्लब, साङ्गीतिक समूहले ‘कन्सर्ट’ आयोजना गर्थे । त्यही हल्लनचोक आज भने सुनसान छ । यो वर्ष कालारात्रि ‘ब्याण्ड’, गायक सम्भोज मल्लसहित ‘लाइभ डिजे’ आयोजना हुँदै थियो ।

कोरोना भाइरसकै सन्त्रासका कारण आयोजक कालिका भगवती युवा क्लबले सबै कार्यक्रम रद्द गर्‍यो । नेपाल भाषा मङ्का खलः बागलुङले पनि फागु पर्वमा आयोजना गर्दै आएको कार्यक्रम स्थगित गर्‍यो । नेवार समुदायका अगुवासहित सर्वसाधारण फागु खेल्दै बागलुङ बजार परिक्रमा गर्थे ।

दुई वर्ष पुराना नेवारी फागु गीत बागलुङका सडकमा गुञ्जिन्थे । युवा युवतीदेखि वयस्यकसम्म फागु गीत र नाचमा रमाउँथे । कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई दृष्टिगत गरी फागु विशेष कार्यक्रम स्थगन गरिएको खलःका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए ।

यति मात्र होइन जिल्लाका अन्यत्र ठाउँमा पनि फागु पूर्णिमाका अवसरमा आयोजना गरिएका मेला, महोत्सव स्थगन भएका छन् । जिल्लाको गलकोट नगरपालिका–७ मल्म र निसीखोला गाउँपालिका–४ मा आयोजित फागु पूर्णिमा मेला स्थगन भयो ।

गलकोटको घुम्टे युवा परिवारले ३५ वर्षदेखि फागु पर्वमा मेला गर्दै आएको थियो । शुक्रबारदेखि शुरु हुने भनिएको मेलामा विविध कला, खेलकूद, कृषि प्रदर्शनीलगायतका कार्यक्रम तय गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमण रोक्न आवश्यक सजगताका लागि वर्षौं पुरानो मेला स्थगन गरिएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाले बताए । सधैँ फागुमा रौनक छाउने मल्मस्थित परिवारको परिसर यसपालि सुनसान छ ।

कोरोना भाइरसले फागुमा पारेको प्रभावले व्यापार, व्यवसायलाई समेत असर ग¥यो । फागुका लागि ६०० ‘टिर्सट’ ल्याएकोमा जम्मा १० वटा बिक्री भएको स्थानीय व्यवसायी रिमा गुप्ताले बताइन् । उनका अनुसार रङलगायत फागुमा प्रयोग हुने कुनै पनि सामग्री बिक्री भएन ।

फागु पर्वमा मात्र नभएर जिल्लामा आयोजना हने अन्य सार्वजनिक सभा, समारोह पनि कोरानाकै कारण स्थगित भएका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण ८५ देशमा फैलिएको छ । अहिलेसम्म भाइरसका कारण तीन हजार ५०० भन्दा बढीले ज्यान गुमाएका छन् । झण्डै एक लाख भाइरसबाट सङ्क्रमित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७