भानुभक्त ढकाल आएपछि स्वास्थ्यमा सुधारको सुरुवात


२६ फाल्गुन २०७६, सोमबार
Bhanubhakta Dhakal भानुभक्त ढकाल

काठमाडौं, २४ फागुन :  स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आफ्नो सय दिनको प्रमुख उपलब्धि सार्वजनिक गरेका छन् । एक सय दिनमा भएका उपलब्धिलाई ६ वटा विषयमा ४६ बुँदामा उल्लेख गर्दै सार्वजनिक गरिएको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मलेन गर्दै मन्त्री ढकालले सय दिनको प्रमुख उपलब्धि सार्वजनिक गरेका हुन् ।

मन्त्री ढकालले नीतिगत व्यवस्था तथा प्रणालीतर्फ राष्ट्रिय संयुक्त वार्षिक समीक्षा सम्पन्न गरी स्वास्थ्य क्षेत्रका मानव संसाधन व्यवस्थापन, पूर्वाधार विकास, सूचना व्यवस्थापन, अस्पताल सेवा सुधार, सेवा प्रवाहजस्ता विषयहरूको प्राथमिकताका सूची तय भएको, आगामी वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्नेगरी कार्ययोजना तयार गरिएको र बाह्य विकास साझेदारसँग सम्झौता हस्ताक्षर गरिएको जनाएका छन् ।

त्यस्तै, सरकारी, सामुदायिक, गैरसरकारी, निजी क्षेत्रसँग स्वास्थ्यका कार्यक्रमहरूमा गरिने साझेदारीलाई प्रभावकारी कार्यान्वयनका लागि तयार पारिएको ‘स्वास्थ्य क्षेत्रमा साझेदारी निर्देशिका, २०७६’ मन्त्रिपरिषद्बाट स्वीकृत भई लागू भएको, मौजुदा नीति, ऐन, नियम, १५औं योजनाको आधारपत्र, नेपाल स्वास्थ्य क्षेत्र रणनीति तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता, दिगो विकास लक्ष्यलगायत निर्देशक दस्तावेजहरूका आधारमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तयारीका लागि ‘स्वास्थ्य क्षेत्रको योजना तर्जुमा मार्ग निर्देशन, २०७६’ स्वीकृत भई लागू गरिएको, देशमा दैनिक आठजनाको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको हालको अवस्थामा दुर्घटना न्यूनीकरण, प्राथमिक उपचार, समयमा नै प्रेषण गरी दुर्घटनापछिको अंगभंग तथा अपांगता दरमा कमी ल्याउन र समग्र मृत्यु संख्या घटाउने उद्देश्यले मुख्य तथा सहायक राजमार्गनजिक अवस्थित स्वास्थ्य संस्थाहरूमा ट्रमा सेन्टर स्थापना तथा सञ्चालन गर्न एक कार्यविधिको निर्माण गरिएको जनाएका छन् ।


संघीय संरचनाअनुसार महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमलाई थप व्यवस्थित बनाउन ‘राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति, २०६७’ लाई आवश्यक संशोधन गरी स्वीकृत गरिएको, विद्यालय स्वास्थ्य कार्यक्रमको व्यवस्थापनका लागि प्रत्येक विद्यालयमा एकजना नर्स राख्न ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि, २०७६’ स्वीकृत भएको, दुर्गम क्षेत्रका अस्पतालहरूमा विशेषज्ञ परामर्श सेवा प्रदान गर्न दूरचिकित्सासम्बन्धी मापदण्ड तथा कार्यविधि तयार भएको, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानलगायतका विभिन्न परिषद तथा प्रतिष्ठानहरूमा लामो समयदेखि रिक्त रहेका पदहरूमा पदाधिकारीहरू नियुक्ति गरिएको लगायत विषयलाई उनले आफ्ना उपलब्धिका रूपमा उल्लेख गरेका छन् ।


त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत प्रादेशिक प्रयोगशाला स्थापनाका लागि सबै प्रदेशमा सरोकारवालाहरूसँग छलफल सम्पन्न गरी प्रयोगशाला स्थापनाको प्रारम्भिक कार्य अगाडि बढेको, केन्द्रीयस्तरका पाँचवटा अस्पतालको अस्पताल विकास समिति गठन आदेश मन्त्रिपरिषद्बाट स्वीकृत भएको, साबिकको क्षेत्रीय क्षयरोग केन्द्र पोखरालाई गण्डकी प्रदेशअन्तर्गत हस्तान्तरण गरिएको, जनस्वास्थ्य सेवा नियमावली तथा सुरक्षित मातृत्व एवं प्रजनन स्वास्थ्य नियमावलीको मस्यौदा अन्तिम चरणमा रहेको मन्त्री ढकालले जनाए । त्यसबाहेक अनुगमन, सेवा प्रवाह, अध्ययन तथा अनुसन्धान, कोरोना महामारी व्यवस्थापनलगायतका क्षेत्रमा पनि दर्जनौं काम भएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७