‘वर्ष ५७ का जुँगेबहादुर कक्षा २ मा’


२७ फाल्गुन २०७६, मंगलवार
junge

दुल्लु, २७ फागुन । नारायण नगरपालिका–२ भैरवटोलका जयबहादुर सुनार ‘जुँगे’ ५७ वर्षको भए । उनी आफ्नै वडामा रहेको श्री खड्ग आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गर्छन् । बिहान सबेरै उठ्छन्, अनि घरको जे काम छ सक्छन् ।

जब ९ बज्छ उनी विद्यालय जानका लागि तयार हुन्छन् । एक हातमा लौरो, एक हातमा कान्छो छोराको कान्छी छोरी अर्थात नातिनी, काँधमा झोला । अनि अर्की जेठी नातिनी पनि साथमा लिएर सँगै विद्यालयतर्फ लम्कन्छन् ।

विद्यालय जाने समयमा आफ्नी श्रीमती धर्मालाई खाना पस्किन र पोसाक तयारी गर्दिन आग्रह गर्छन् । श्रीमती धर्मा कहिलेकाहीँ भन्छिन्, ‘मर्ने बेलामा हरियो काँक्रो ।’ उमेर ढल्केका श्रीमानको स्कूले जीवन देख्दा धर्मा अचम्म मान्छिन् ।

धर्मा कहिलेकाहीं ठट्ठा गर्छिन्, ‘यो बूढाले कहिले पढाइलेखाइ गर्नुहोला र कहिले जागिर खानुहोला, उहाँ कसैको कुरा नसुनेर नियमित विद्यालयमा जानुहुन्छ ।’ विद्यालयको पोसाकमा बिहान १० बजे नियमित राष्ट्रियगान र अभ्यासमा सहभागिता जनाउँछन् ।

रोचक त के छ भने उनी स्कूलमा पुग्ने बित्तिकै सम्पूर्ण विद्यार्थी र शिक्षकहरूले ‘बाजे नमस्ते !’ भन्दै अभिवादन गर्छन् । विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले आदर–सम्मान गर्ने गर्दछन्, जयबहादुरलाई ।

सोही विद्यालयको व्यवस्थापन समितिको पूर्व सदस्य समेत रहेका जयबहादुरको स्कूले जीवन देख्दा जो कोही पनि आश्चर्य मान्छन् तर उनलाई कसैको मतलब छैन, मतलब छ त पढाइ–लेखाइको । बिहान १० बजे नातिनीसँग विद्यालय जाने र बेलुकी ४ बजे घर फर्किने उनको दैनिकी बनेको छ अहिले ।

बेलुकाको खाना खाइसकेपछि जयबहादुरका कान्छा छोरा जनकले आफ्नी छोरीलाई भन्छन्, ‘जाऊ बाजेले कस्तो लेख्नु भयो, चेक गरेर आऊ ।’ अनि नातिनी बाजेको गृहकार्य चेक गर्न जान्छिन्, बाजेको कोठातिर ।

नातिनीसँगको दैनिकी र पढाइ–लेखाइ गर्न लागेको जयबहादुरको दुई वर्ष भयो । कक्षा १ मा उनी विद्यालयको नै प्रथम विद्यार्थी हुन् २०७५ मा । अहिले पनि विद्यालयमा राम्रो विद्यार्थीका रूपमा चिनिन्छन् ।

आखिर उनलाई ढल्कँदो उमेरमा विद्यालय जाने आशा कसरी पलायोे त ! सबैको मनमा लाग्ने कुरा यही नै हो । जयबहादुर विगत लामो समयदेखि पिसाबसम्बन्धीको बिरामी हुन् । उनका भाइहरुले दुई वर्ष पहिले उपचारका लागि नेपालगञ्ज नर्सिङ होममा लगे ।

‘तीन घण्टा हराइयो’, उनी मुस्कुराउँदै भन्छन्, ‘लेखेको कुरा पढ्न नजानेर महिलाको शौचालयमा गइयो, आफ्नो ‘बेड’ नं थाहा नपाएर अर्काको ‘बेडमा’ गइयो । डाक्टरहरु रिसाउनुभयो ।’ उनलाई त्यहिबेला पढाइ–लेखाइ अमूल्य रहेछ भन्ने लागेछ ।

‘त्यसैको झाँंकले भाइलाई विद्यालयमा नाम लेखाई दिन भनें, भाइले कक्षा १ मा नाम लेखाए र गत सालदेखि ‘खुरुखुरु’ स्कूल जान थालें’, उनले भने, ‘अहिले अङ्गेजी धेरै नआए पनि नाम लेख्नदेखि सबै नेपाली ‘खरर’ पढ्न सक्ने भएँ ।’

जयबहादुुरका मात्रै चार छोरा र तीन छोरी छन् । परिवारको ज्येष्ठ सदस्य उनका सात भाइमध्ये प्रायः कोही सरकारी जागिरे छन् भने कोही प्रहरी त कोही सामाजिक अभियानकर्मीका रूपमा सक्रिय छन् । जयबहादुरका माइला भाइ सन्तबहादुर सुनार अहिले रक्षा मन्त्रालयमा सहसचिव छन् । उनको शिक्षित परिवार । जयबहादुरका सबै छोराछोरी पनि धेरथोर पढेलेखेकै छन् । आफू नपढेकाेमा पुछुतो पनि थियो ।

‘सानो छँदा गाईभैंसीको गोठाला र अलि ठूलो भएपछि कालापहाडमा (भारत) मजदूरी गर्न जाने गरियो । शिक्षाको महत्व नै बुझिएन’, उनी भन्छन्, ‘नेपालगञ्जमा यस्तो घटना भएपछि थाहा भयो कि शिक्षाको महत्व कति रहेछ ।’

जयबहादुरलाई गाउँमा सबैले ‘जुँगे’ भनेर चिन्दा रहेछन् । उनी भन्छन्, ‘सबैले प्रशंसा गर्छन् ।’ जयबहादुरका भाइ जनक सुनार भन्छन्, ‘दाजुको यो पढाइले समाजमा केही सन्देश प्रवाह गरेको छ । घर परिवारको पहिचान बनेको छ ।’

खड्ग आधारभूत विद्यालयका प्रधानाध्यापक रमेश थापा भन्छन्, ‘उहाँ हाम्रो अभिभावक हो । अहिले आएर विद्यार्थी बन्दा विद्यालय परिवारमा थप प्रेरणा थपिएको छ । बालबालिकाको भन्दा स्मरण शक्ति उहाँको कम छ तर पनि उहाँले हरेक कुराहरु सजिलै स्मरण गर्नुहुन्छ । विद्यालयको शोभा बढेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७