हाँडीकोट : पर्यटकका लागि ‘भर्जिन डेस्टिनेसन’


२७ फाल्गुन २०७६, मंगलवार
hadikot

बागलुङ, २७ फागुन । बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा रहेको प्रसिद्ध हाँडीकोट धुरीको प्रचारप्रसारका लागि स्थानीय युवाले सक्रियता बढाएका छन् । पर्यटकीय सम्भावना रहेर पनि हाँडीकोट ओझेलमा परेको भन्दै युवाहरुले सक्रियता बढाएका हुन् ।

हाँडीकोटको विकासका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराउनका लागि विविध गतिविधि सञ्चालन गर्ने योजनामा रहेको हाँडिकोट सामुदायिक विकास केन्द्रका अध्यक्ष नगेन्द्र श्रीसले बताए । जैमिनी नगरपालिका–१० राङखानीमा पर्ने धुरीको प्रचारका लागि केन्द्रले प्रथम हाँडीकोट महोत्सव सम्पन्न गरेको छ ।

फागु पूर्णिमाको अवसरमा केन्द्रले समुद्र सतहदेखि एक हजार ७०० मिटरको उचाइमा पहिलो पटक महोत्सव गरेको हो । महोत्सवमा नगरपालिका र बरेङ गाउँपालिकाका सर्वसाधारणलगायत जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको श्रीषले बताए । ‘हामीले हाँडीकोटको प्रचार गर्ने र यसको महत्व दर्शाउने प्रयास गरेका छौं’, उनले भने, ‘महोत्सवले सबैको चासो बढाएको छ ।’

महोत्सवको उद्घाटनका लागि हाँडीकोट पुगेका जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले हाँडीकोट जिल्लाकै पर्यटन क्षेत्रमा प्रभाव राख्नसक्ने क्षेत्र भएकाले यसको विकासका लागि पहल गर्नुपर्ने बताए । घुम्नेहरुका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै उनले हाँडीकोटको प्रकृति, धार्मिक पर्यटन र यहाँको जडीबुटीको पहिचान र प्रयोगमा जोड दिए ।

भुरे टाकुरे राजाका पालामा बनेको दरबारका अवशेष हाँडीकोटमा छन् । यहाँ रहेको शिवको मन्दिर धार्मिक पर्यटकका लागि उपयुक्त गन्तव्य हो । हाँडिकोटबाट साविकको पश्चिमाञ्चल विकास क्षेत्रका अधिकांश जिल्लाका उच्च भू–भाग खुला आँखाले देख्न सकिने भएकाले पर्यटकको गन्तव्य बनाउन सकिने नगरपालिकाका उपप्रमुख लीला राना बताउँछिन् ।

यहाँबाट १६ भन्दा धेरै हिमश्रृङ्खला देख्न सकिन्छ । पर्यटकीयस्थल प्रवर्धन गर्नकै लागि आयोजना भएको पहिलो महोत्सवमा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने बताए । बरेङ र जैमिनी दुवैको पर्यटकीयस्थलका रूपमा हाँडिकोटलाई प्रयोग गर्न सकिने उनको धारणा थियो ।

हाँडीकोटको विकासका लागि नगरपालिकाले पछिल्ला दुई वर्षमा रु १६ लाख खर्चेको छ । नगरपालिकाको वडा नं–१० राङ्खानीबाट हलहलेसम्म रु सात लाख ५० हजार खर्चेर सवारी चल्ने सडक निर्माण गरिएको उपप्रमुख रानाले बताइन् ।

त्यस्तै व्यार्थलादेखि हाँडीकोटसम्म पदमार्ग निर्माणको काम समेत चलिरहेको छ । पछिल्ला दुई आर्थिक वर्षमा रु आठ लाख ५० हजारको लागतमा ५०० मिटरभन्दा लामो पदमार्ग निर्माण भइसकेको उनले बताइन् । यो पदमार्ग पूरा गर्नका लागि हरेक वर्षको बजेटले सम्बोधन गर्ने उनको धारणा थियो ।

व्यार्थलाबाट झण्डै तीन किलोमिटर पैदलयात्रा गरेर हाँडीकोट पुग्न सकिन्छ । यहाँको विकासका लागि स्थानीय सरकारसँग मिलेर योजनाबद्ध काम गरिने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७