बाँस्कोटाको घरमा बम विष्फोट : विप्लव समूहले लियो जिम्मा, देखायो यस्ता १० कारण


२८ फाल्गुन २०७६, बुधबार
Gokul baskota Home

काठमाडौं, २८ फागुन । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा आज (बुधबार) विहान भएको बम विष्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको छ ।

पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नव निर्मित घरमा बुधबार बिहान प्रेसर कुकर बम बिष्फोट गराइएको थियो । विप्लव नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटलामा संलग्न भएको लगायत विभिन्न १० कारणले घरमा बम विष्फोट गराउनु परेको जनाएको छ ।

पूर्वमन्त्री बाँस्कोटाको घरको भुइँ तलामा बम बिष्फोट भएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले बताएका छन् ।

बम बिष्फोटबाट एउटा मारुती कार पूर्ण क्षतिग्रस्त भएको छ । कार पूर्वमन्त्री बाँस्कोटाको छिमेकीको रहेको प्रहरीले जनाएको छ । मन्त्री बाँस्कोटा निवाससँगै रहेका अन्य घरमा समेत सामान्य क्षति भएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले घटनास्थलमा भने, ‘प्रतिबन्धित समूहलाई लक्षित गरेर अनुसन्धानको दायरालाई साँघुरो बनाएका छौं ।’ प्रहरीको यहि भनाइलाई बल पुर्‍याउने गरी समूहको मुखपत्र इरातो खबर डटकमले पर्चा सार्वजनिक गरेको छ ।
यी १० कारणले बम विष्फोट गराएको जानकारी
१) सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।
२) २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।
३) १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।
४) १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका खेलेकाले ।
५) मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ हिनामिना गरेकाले ।

६) सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।
७) नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।
८) राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।
९) आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।
१०) देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्‍याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।

gokul

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७