बाँस्कोटा अडियो टेप प्रकरण : यत्रो ठूलो काण्डमा पोलिएका विकलको विदा कसले गर्‍यो स्वीकृत ?


२८ फाल्गुन २०७६, बुधबार
bikal paudel


काठमाडौं, २८ फागुन । अडियो टेप प्रकरणमा मुछिएर गोकुल बाँस्कोटाले राजीनामा दिएकै भोलिपल्ट विकल पौडेल अमेरिका भास्सिएसँगै एउटा तरंग पैदा भएको छ ।

संसदीय समितिको समेत ‘तारो’ बनेका विकलको बिदा स्वीकृति किन र कसले गर्‍यो ? जबकि उनी सुरक्षण मुद्रण विकास समितिअन्तर्गत केन्द्रका कार्यकारी निर्देशक हुन् । र, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणका मुख्य योजनाकार पनि । तर, यति ठूलो काण्डमा पोलिएका उनी ११ फागुनमा अमेरिका हान्निए १० दिनको बिदा स्वीकृत गराएर ।

पौडेल अघिल्लो वर्ष असारमा नियुक्त भएका हुन् । यसअघि नेपाल सरकारको प्राविधिकको रूपमा राहदानी विभागमा कार्यरत थिए । त्यहाँ रहँदादेखि नै अनियमितताको प्रकरणमा डामिएको बताइन्छ । विकलले लिएको १० दिने बिदा गत (२३ गते)शुक्रबारै समाप्त भइसकेको छ । बीचमा शनि, आइत, सोम सार्वजनिक बिदा । मंगलबारबाट कार्यालय खुल्यो । अन्योल कायमै छ उनी फर्कन्छन् वा फर्कन्नन् ।

यति ठूलो काण्डमा मुछिएका व्यक्तिलाई बिदा दिने सञ्चार सचिव तथा समितिका अध्यक्ष दीपक सुवेदीसँग लेखा समितिले स्पष्टिकरण सोधिसकेको छ । सांसद विरोध खतिवडाले जनआस्थासँग भने, ‘यसरी संसदीय समितिको छानबिनको दायरामा रहेको व्यक्ति विदेश भासिन्छन् भन्ने थाहा पाएको भए छानबिन नटुंगिएसम्मका लागि रोक्न सरकारलाई पत्राचार गर्ने थियौं ।’

यसबारे जनआस्थाले सचिव सुवेदीसँग मंगलबार बिहान जिज्ञाशा राख्दा विकलसँग आफू सम्पर्कमै रहेको सुनाए । ‘उहाँ शुक्रबारै आइपुग्नुपर्ने हो । तर, विश्वलाई नै पिरोलिरहेको कोरोनाबाट अमेरिका पनि अछुत नरहेको र त्यही कारण थप दुई दिन उतै रोकिई आज बुधबारबाटै कार्यालय आइपुग्ने जानकारी पाएको छु’, भद्र स्वभावका सचिवले भने ।

समिति सचिव डा. रोजनाथ पाण्डेका अनुसार आगामी ३० फागुनमा अर्काे बैठक डाकिएको छ । सो बैठकमा विकल उपस्थित हुन्छन् वा हुन्नन् पर्ख र हेरको अवस्था रहेको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७