भागवत गीताको कसम खाँदै कमल थापाले भने, ‘अब पार्टी फुटाउँदिन्’


२८ फाल्गुन २०७६, बुधबार
kamal thapa

काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भागवत गीताको कसम खाँदै अब पार्टी नफुटाउने वाचा गरेका छन् ।

राप्रपाका दुई घटकबीचको एकता घोषणा सभालाई आज (बुधबार) सम्बोधन गर्दै थापाले यस्तो पार्टी फुटाउँदाको पीडाप्रति जानकार भइसकेको बताए । कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकताको सहमति पछि आज राजधानीमा एकता घोषणासभा आयोजना गरिएको हो ।

‘नेताले मात्र होइन, पार्टी फुटाउँदिन भनेर सबै कार्यकर्ताले प्रतिवद्धता जनाउनु पर्छ’, घोषणासभालाई सम्बोधनका क्रममा भागवत गीतको पुस्तक खल्तीबाट निकाल्दै थापाले भने, ‘म पनि अब कहिल्यै पार्टी फुटाउँदिन । यो गीताको पुस्तक साक्षी छ ।’

थापाले राप्रपाले गत संसदीय चुनावमा तीन प्रतिशत मत ल्याएर राष्ट्रिय पार्टी समेत बन्न नसकेका कारण दुई राप्रपाबीच एकता गर्नुको विकल्प नरहेको समेत बताएका छन् ।

राप्रपाको एजेन्डा बलियो हुँदाहुँदै पनि नेताहरुकै कारणले जनविश्वास प्राप्त हुन नसकेको र जनविश्वास प्राप्त गर्न एकता बाहेक अरु उपाय नभएको उनले बताए । उनले भने, ‘त्यसैले यो एकतालाई सार्थक बनाएका छौं ।

यो एकतासँगै राष्ट्रिय राजनीतिमा सशक्त तेस्रो राजनीतिक धार उदय भएको छ ।’ उनले थपे, ‘साम्यवादी र समाजवादी धार हावी भएको छ । कम्युनिष्ट र कांग्रेस दुवै नै बामपन्थी र मध्यबामपन्थीहरु हुन् र त्यहि धार हावी भइरहेको छ ।’

थापाले अब कहिल्यै पार्टी नफुटाउने प्रतिवद्धता जनाउँदा हलमा गडगडाहट ताली बजेको थियो । अहिले सभालाई अर्का अध्यक्ष पशुपति शम्शेर जबरा, र डा. प्रकाशचन्द्र लोहनीले सम्बोधन गरिरहेका छन् । दुई पार्टीबीच एकताका लागि शनिबार राति अबेर सहमति जुटेको थियो । समान हैसियतमा तीन अध्यक्ष रहने गरी एकताको समहति भएको हो ।

कमल थापा, पशुपति शम्शेर जबरा र डा प्रकाश चन्द्र लोहनी तीनै जना अध्यक्ष रहनेगरी एकता भएको हो ।

पार्टीको निर्णय तथा जिम्मेवारी बाँडफाड गर्दा तीनै अध्यक्षको सहमतिमा हुने र बैठकको अध्यक्षता पालैपालो गर्ने समहति भएको छ । पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै रहने र चुनाव चिन्हबारे छलफलपछि निर्णय लिने जनाइएको छ। एकताको आधार पत्र भनी १० बुँदे सहमति पत्र जारी गरिएको थियाे ।

एकिकरण सम्बन्धि आधारपत्र र कार्यविधि निर्धारण गर्न राप्रपाबाट दिपक बोहरा, बुद्धिमान तामाङ र भाष्कर भद्रा र राप्रपा (संयुक्त) बाट बिक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिना रहेको कार्यदल गठन गरिएको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७