मिटरब्याजको पैसा तिर्न अपहरणमा परेको नाटक गरेर बाबुसँगै ३० लाख फिरौती माग


२८ फाल्गुन २०७६, बुधबार
apaharan

मोरङ, २८ फागुन । नक्कल अपहरणको नाटक रचेर आफ्नै बाबुलाई ठूलो रकम फिरौती माग्ने एक युवालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिएको अभियोगमा बुढिगंगा गाउँपालिका–३ बाँसबारी बस्ने २४ वर्षीय मुकेशकुमार महतोलाई प्रहरीले सुनसरीको भण्टाबारीबाट पक्राउ गरेको हो ।


गत शुक्रबार घरबाट निस्केका मुकेश कुमारले आफ्नो मोबाइलबाट बाबुलाई फोन गरी आफू अपहरणमा परेको, अपहरणकारीले ३० लाख रूपैयाँ फिरौती मागेको र प्रहरीलाई खबर गरे ज्यान मार्ने धम्की दिएको जानकारी दिँदै अपहरणकारीले आफूलाई लहानमा आइतबार धनुषाको जनकपुरमा र सोमबार कोशी ब्यारेजको बोर्डर छेउमा राखेको बताएका थिए ।


सोमबार उनका बाबुले २१ लाख रुपैयाँ फिरौतीको रकम दिएका थिए । घटनाको अनुसन्धानको क्रममा प्रहरीले तत्काल उनकै मुन्सी काम गर्ने बुढिगंगा गाउँपालिका(३ बासबारी बस्ने २५ वर्षीय कृष्ण राजबंशीलाई फिरौतीको रकमसहित पक्राउ गरेको थियो ।

मुकेश कुमारले आफूले १ वर्ष अगाडि ५ लाख रूपैयाँ सापट लिँदा मिटर ब्याजका कारण परिवारले ९६ लाख तिर्नु परेको, अरू ५० लाखको समेत कागज गरेको र नतिरेमा ज्यान मार्ने धम्की दिएकोले घर परिवारबाट पैसा माग्न लाज लागेर आफूले अपहरणको नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७